Logo

राजनीति

स्वार्थको गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनायो : महासचिव पोखरेल



विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान पाँचदलीय गठबन्धनको सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएको आरोप लगाएका छन् । यो गठबन्धन सरकार नेपाली जनताको लागि अभिशाप भएको टिप्पणी गर्दै उनले लामो समयसम्म यही सरकार रहे देश छिट्टै श्रीलंकाको बाटोतर्फ जाने दाबी गरे ।

सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा महासचिव पोखरेलले यो सरकार स्वार्थका लागि मात्र बनेको आरोप लगाए । ‘यो सरकार स्वार्थका लागि मात्र बनेको हो, यो सरकार बन्दै गर्दा मुलुकको आर्थिक अवस्था वचतमा रहेको तर अहिले खर्बौ ऋणमा पुगेको छ’, उनले भने, ‘महंगी दोब्बरभन्दा बढी बृद्धि भएको छ। पूँजीगत खर्च लज्जास्पद छ। जसले गर्दा मुलुकको अर्थतन्त्र धराशायी बन्दै गएको छ ।’

महासचिव पोखरेलले बजेट निर्माणका क्रममा देखा परेको हर्कत एक प्रकारको राष्ट्रघात भएको बताए । यसले माफियातन्त्रलाई र दलाल नोकरशाही पुँजीवादलाई प्रश्रय गरेको उनको ठहर छ । दुनियाँमा कहीँ पनि गठबन्धनले समृद्धि नल्याएको भन्दै उनले विकासको लागि नीतिगत नेतृत्व चाहिने बताए ।

उनले निर्वाचनको मिति घोषणा भइसकेकोले अब जनताले छिनोफानो गर्ने बताए । ‘वर्तमान सरकारका हरेक गतिविधि नेपाली जनताको लागि अभिशाप बनेका छन्, यसलाई जतिसक्दो चाँडो हटाउनुपर्छ। निर्वाचनको मिति घोषणा भएको छ, निर्वाचनबाटै जनताले छिनोफानो गर्छन्,’ महासचिव पोखरेलले भने। चुनाव घोषणा भएसँगै संसद्‍को भूमिका निष्कृय हुने भए पनि संकटको बेला काम लाग्छ भनेर जोगाएर राखेको उनको आरोप छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार १३:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।