Logo

राजनीति

जबराविरुद्धकाे महाभियोग अध्ययन छिट्टै सक्न समितिलाई सभामुखको आग्रह



काठमाडौं । सभामुख अग्नि सापकोटाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइको महाभियोगमाथिका अध्ययन छिट्टै सक्न आग्रह गरेका छन् । २२ साउनमा प्रतिनिधिसभाले जबराविरुद्धको महाअभियोग, महाअभियोग सिफारिस समितिमा पठाए पनि हालसम्म समितिले काम सुरु गरेको छैन ।

यही बेला सभामुख सापकोटाले सिफारिस समितिका उपलब्ध सदस्यहरूको सहजीकरण बैठक राखेर यस्तो आग्रह गरेका हुन । सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेका अनुसार सहजीकरण बैठकमा छानबिन समितिका ११ जना सदस्यमध्ये ८ जना उपस्थित थिए । सङ्घीय संसद् सचिवालयका महासचिव र सचिव लगायतको पनि उपस्थिति रहेको थियो ।

समितिको सचिवको जिम्मेवारी संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ । सहजीकरण बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले महाअभियोगबारे प्राप्त जिम्मेवारी छिट्टै सम्पन्न गर्न आग्रह गरेका हुन् । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा विष्णु पौडेल, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, यशोदा सुवेदी, रेखा शर्मा, कल्याणी खड्का, एकवाल मियाँ र प्रमोद साह छन् ।

संसद् सचिवालयको रेकर्डअनुसार रामबहादुर विष्ट यो समितिका जेष्ठ सदस्य हुन् । उनकै नेतृत्वमा पहिलो बैठक बस्नेछ । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि तय गर्ने, संयोजक तोक्ने लगायतका कार्य गर्ने समितिका सचिव गौतमले बताए । तर, पहिलो बैठक बस्ने मिति तय भएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १४:५४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।