Logo

प्रमुख समाचार

न्याय परिषद्को निर्देशिका प्रकरण : रजिष्ट्रारबाट दरपिठ गरिएको रिट सर्वोच्चमा दर्ता



काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि ल्याएको नयाँ निर्देशिका विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतीदेव पनेरुले दायर गरेको रिट बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरेका थिए । त्यसपछि शुक्रबार उक्त दरपीठका विरुद्धमा परेको रिट निवेदनको सुनुवाइ गर्दै मंगलवार सर्वोच्चका न्यायाधीश डा. मनोज कुमार शर्माले दरपिठको फाइल झिकाउने आदेश दिएका थिए ।

आज (बुधवार) उक्त दरपिठ विरुद्धको रिटमा सुनुवाइ गर्दै न्यायाधीश शर्माले न्यायपरिषद्ले ल्याएको नयाँ निर्देशिकाविरुद्धको रिट दर्ता गर्न आदेश दिएका रिट निवेदक शर्माले जानकारी दिए । उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि ल्याइएको नयाँ निर्देशिकाले न्यायालयलाई झन् प्रभावित पार्ने चौतर्फी चिन्ता बढ्न थालेको भन्दै अधिवक्ताद्वय उक्त निर्देशिकाविरुद्ध सर्वोच्च पुगेका हुन् ।

न्याय परिषद्ले ल्याएको नयाँ निर्देशिकामा व्यक्तिगत स्वार्थ जोडिएको एवम् उक्त निर्देशिकाले न्यायाधीश नियुक्तिको प्रक्रियामा अदालतका कर्मचारीहरु, सरकारी वकिलहरु, कानून अधिकृतहरु एवम् कानून व्यवसायीहरुबीच असमान व्यवस्था राखिएकोले संविधानको धारा २९ को शोषण विरुद्धको हकमा आघात पुगेको र धारा ३३ को रोजगारीको हकको भावना र धारा १८ को समानताको हक एवम् धारा २० को न्यायको हक विपरीतको न्यायाधीश नियुक्तिको प्रक्रिया सम्बन्धी निर्देशिका २७९ उत्प्रेषणको आदेशले बदर गरी पाउँ भनी उनीहरुले रिट दर्ता गरिएको हो ।

अधिवक्ताद्वयले विभिन्न प्रकरणहरु खुलाई न्यायाधीश नियुक्ति सम्बन्धी निर्देशिका २०७९ शुरुवाती अवस्थामै अव्यवहारिक, त्रुटिपूर्ण हुनुको कारणले संविधानको धारा १७ को स्वतन्त्रताको हकको हनन्, धारा १८ को २ र ३ को कुनै आधारमा कसैलाई भेदभाव गरिने छैन भन्ने हकको हनन्, धारा २७ को सूचनाको हकको त्रुटिपूर्ण व्यवस्था भएको जिकिरसमेत रिटमा गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार १७:३८   :  बजे

846
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।