Logo

अन्तर्वार्ता

निर्वाचनमा गठबन्धन र तालमेल एमालेको प्राथमिकता होइन : योगेश भट्टराई



सरकारले मंसिर ४ का लागि प्रदेश र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै त्यसको तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग, राजनीतिक दल तथा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकाहरु सबै आ—आफ्नो तयारीमा व्यस्त छन् । आगामी पाँच वर्षको लागि संक्षम जनप्रतिनिधि चुन्न जनता पनि उत्साहित देखिएका छन् । बढीभन्दा बढी सिटमा जित हात पार्न जोड—घटाउ, भेटघाट, भागभण्डा, भेला, छलफल, तालमेल र प्रशिक्षण जस्ता गतिविधिमा राजनीतिक दलहरुको पनि दौडधुप छ । आगामी निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो निर्वाचनमा उम्मेदवारका रुपमा स्वतन्त्रहरुको सहभागीता पनि ठूलै संख्यामा हुने धेरै स्पष्टै छ ।

गठबन्धन दलहरु भागभण्डामा लागेका छन् भने नेकपा एमाले आफू राष्ट्रिवादी पार्टी भन्दै आगामी चुनावमा बहुमत ल्याउने दाबी गर्छ । एमालेले सत्ता गठबन्धनलाई तथाकथित, अवैचारिक, असैद्धान्तिक, स्वार्थपे्ररित र मुलुकको हित विपरीत बनेको बाँडीचडी खाने स्वार्थ समूहको संज्ञा दिन्छ । एमालेको यी नै आरोप तथा टिप्पणी, चुनावी एजेन्डा, गठबन्धनलाई पराजित गर्ने आधारलगायत निर्वाचनको तयारीमा एमाले कसरी जुटिरहेको छ ? यी नै विषयमा एमाले सचिव योगेश भट्टराईसँग अनलाइनपानाका लागि रामनाथ कुँवरले गरेको कुराकानी :

एमालेले आगामी निर्वाचनको तयारी कसरी गर्दै छ ?
नेकपा एमाले निर्वाचनको तयारीमा लागिसकेको छ । हामी भदौको दोस्रो हप्तासम्म प्रदेश, जिल्ला र पालिकामा भेला, बैठक र प्रशिक्षण चलाउँछौं । त्यो क्रम अभियानको रुपमा अहिले जारी छ । पार्टीका केन्द्रीय अध्यक्ष, नेताहरु, सांसदहरु सबै अहिले त्यो अभियानमा लाग्नुभएको छ । यही बिचमा हामीले घोषणा पत्रका लागि जनताबाट सुझावहरु संकलन गरिरहेका छौं । सम्भवतः हामी भदौ अन्तिम वा असोजको पहिलो हप्तासम्म घोषणा पत्र जारी गर्छैं । त्यसैगरी उम्मेदवारको छनोट प्रक्रिया पनि अब भदौबाट सुरु हुन्छ । असोजको पहिलो हप्तामा समानुपातिकको टुङ्गो लगाउन पर्ने हुन्छ । असोज २३ गते प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नु पर्छ । त्यसपछि हामी चुनावी अभियानको दोस्रो चरणमा अगाडि बढ्छौं ।

निर्वाचनमा एमालेको मुख्य एजेन्डाहरु के—के हुन्छ ?
हामीले गत आम चुनावमा पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा दिएका थियौं । त्यही नारालाई नै हामी अगाडि बढाउँ छौं । त्यसमा मुलतः पूर्वधार विकासको लागि यातायात, विद्युत, पर्यटन लगायतका पक्षलाई समेट्छौं । त्यसैगरी सामाजिक पूर्वाधारको क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता कुराहरुमा विशेष फोकस गर्ने छौं । स्थानीय तहलाई बलियो बनाउनेगरी स्थानीय तह मार्फत विकास गर्नेगरी हामी एजेन्डा तय गरेर अगाडि जान्छौं । हामीले तय गरेको एजेन्डामा जनताको माग र आवश्यक्तालाई समेट्ने छौं ।

निर्वाचनमा अन्य दलसँग गठबन्धन र तालमेलको सम्भावना कति छ ?
निर्वाचनमा गठबन्धन र तालमेल नेकपा एमालेको प्रथामिकता होइन । किनभने हाम्रो संविधानको धारा २ सय ६९ ले भनेको छ– यो बहुदलीय व्यवस्था हो । प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा कुनै पनि राजनीतिक दलहरु स्वतन्त्रता पूर्वक आफ्नो जनमत प्राप्तिको निम्ति लड्नु पर्छ । जनताले कुन राजनीतिक दललाई विश्वास गर्छन्, कुन राजनीतिक दलको एजेन्डा मन पराउँछन् (?) भनेर जाँच्ने महत्वपूर्ण कडी आम निर्वाचन हो ।

त्यसो हुनाले नेकपा एमालेले गठबन्धनलाई प्राथामिकता दिँदैन । हामी आफ्नो तागतमा, आफ्नो विचारमा, आफ्नो सामथ्र्यमा देशभर चुनाव लड्छौं । सबै क्षेत्रमा नेकपा एमालेका उम्मेदवारहरु उठाउँछौं । स्थानीय तहको निर्वाचनमा पनि हाम्रो तालमेलको लागि केन्द्रीय नीति थिएन । अहिले पनि हुँदैन । स्थानीय तहमा जसरी नै कुनै पनि क्षेत्रमा स्थानीय आवश्यक्ताको आधारमा तालमेल गर्न केन्द्रसँग जानकारी गराएर मात्रै गर्नु पर्छ । तर यसपटक हामी तालमेल र गठबन्धनमा जाने सोचमा छैनौं । आफ्नो सामथ्र्यमा निर्वाचन लडेर बहुमत ल्याएर जित्ने हाम्रो लक्ष्य हो ।

उता पाँच/छ दलीय गठबन्धन बन्दा यता एमालेले बहुमत ल्याउन आधार बाँकी रहन्छ र ?
स्थानीय निर्वाचनमा पनि भएभरका दलहरु मिलेर मात्रै हो । नत्र एमालेले सिटकै आधारमा अरुलाई धेरै पछाडि पाथ्र्यो । तर पनि लोकप्रिय मतको आधारमा हामी पहिलो नम्बरमा छौं । यो निर्वाचनमा पनि हामी बहुमत ल्याउँछौं । स्थानीय तहको भन्दा संघ र प्रदेशको चुनावमा जनताको अपेक्षा फरक हुन्छन् । किनभने जनताले बलियो र स्थिर सरकार खोज्छन् । राष्ट्रिय सामथ्र्य भाएको सरकार खोज्छन् । अन्तर्राष्ट्रिय स्तरमा कसले जनताको हितमा काम गर्न र बोल्न सक्छ, त्यस्तो पार्टी रोज्छन् । त्यसो हुनाले आजको दिनमा मुलुकलाई स्थायी सरकार दिन सक्ने र अन्तर्राष्ट्रिय हिसाबले नेपालको हितमा काम गर्न सक्ने सामथ्र्य भएको पार्टी नेकपा एमाले हो । यो कुरा विगतबाट नै पुष्टि भएको छ । त्यसकारण जनताले हामीलाई नै बहुमत दिन्छन् भन्ने हाम्रो मुख्य आधार हो ।

यो गठबन्धन भनेको बहुदलीय व्यवस्थाको विशेषता र चरित्रभन्दा ठिक उल्टो कुरा हो । यसले देशलाई खतरामा पार्छ । यस आधारमा पनि जनताले एमालेलाई बहुमत दिन्छन् । त्यस्तै एमाले सरकारमा हुँदाको विकास, देशको अवस्था र अहिले गठबन्धन सरकारको कामकारवाही जनताले देखिरहेकै छन् । गठबन्धनले देशलाई दिनप्रतिदिन लुटिरहेको जनताले देखिरहेका/भोगिरहेका छन् । यसरी देशलाई यो बाडीचुँडी खाने गठबन्धनलाई हराएर जनताले एमालेलाई जिताउँछन् भन्नेमा हामी विश्वस्त छौं । गठबन्धनले देशलाई अस्थिरतातिर लान्छ, सिद्धान्तविहीन गठबन्धनले देशलाई गतिहिनतातिर लान्छ । यो गठबन्धन अनैतिक र अराजनीतिक गतिविधितिर गइरहेको छ । गठबन्धन मुलुकको हितमा होइन, नेताहरुको स्वार्थमा केन्द्रित छ । जनताले त्यस्तो सरकार खोजेका छैनन् । स्वास्थ्य विचारसहितको राजनीतिक शक्ति खोजेका छन् । त्यो शक्ति नेकपा एमाले हो ।

सत्ता गठबन्धनलाई हराउने प्रमुख रणनीति के छ ? एक, दुई, तीन भन्दिनुस् ।
एमाले इतिहासदेखि हालसम्म कसैको भरमा परेर लडेको पार्टी होइन । स्थापना कालदेखि नै आफ्नै खुट्टामा उभिएर लड्दै आएको पार्टी हो । पञ्चायतविरुद्ध लड्दा पनि हामी आफ्नो सामथ्र्यमा लडेको हो । २०६२/६३ मा माओवादीले हिंसात्मक गतिविधि गरे पनि हामी आफ्नो स्पष्ट विचारका साथ लडेका थियौं । नेपाली कांगे्रसले २०४७ देखि ५६ सम्म सर्वसत्तावाद ज्यादती गर्‍यो । त्यकाविरुद्ध पनि एमाले लडेको पार्टी हो । संविधान बनाउन नदिने तागतको विरुद्ध लडेको पार्टी हो । त्यसैले एमाले आफ्नै सामथ्र्यमा लड्ने पार्टी भएकोले आजको यो कथाकथित, अवैचारिक, असैद्धान्तिक, स्वार्थपे्ररित र मुलुकको हित विपरीतको यो गठबन्धन हाम्रा लागि ठूलो चुनौती हुँदै होइन । त्यसको सामाना नेकपा एमालेले सहजै गर्छ ।

यत्ति कुरालाई लिएर मात्र जनताले एमालेलाई विश्वास गर्लान्, मत देलान् त ?
यो संविधान निर्माण गर्ने र रक्षा गर्नुपर्छ भन्ने पार्टी पनि एमाले हो । २०७२ असोजमा संविधान जारी गर्दै गर्दा भारतीय विदेश सचिव प्रधानमन्त्री मोदीको विशेष दूतको रुपमा आउनुभएको थियो । उहाँ अहिले परराष्ट्रमन्त्री हुनुहुन्छ । उहाँले संविधान घोषणा नगर्नको तिम्ति विभिन्न राजनीतिक दलहरुलाई दबाब दिनुभयो । त्यो बेला प्रधानमन्त्री शुशिल कोइरालाले संविधान घोषणा गर्ने बेलामा खुट्टा कमाउनुभयो । राष्ट्रपति रामवरण यादव संविधान सभामा आउने नआउने दुविधामा हुनुहुन्थ्यो । नेपाली कांग्रेस दुविधामा थियो । कतिपय मधेशवादी दलहरु संविधान घोषणा नगर्ने पक्षमा थिए । त्यस्तो अवस्थामा संविधान घोषणा गर्ने अग्रपंतिमा भूमिका खेल्ने पार्टी हो नेकपा एमाले । त्यो बेला संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले जे भूमिका खेल्नुभो त्यही कारणले संविधान घोषणा भयो ।

आज बेकारमा शुशिल कोइरालालाई संविधानको पिता भनिएको छ । संविधानको पिता भन्ने हो भने सुवास जीलाई भन्ने हो । शुशिल कोइराला त संविधान घोषणा गर्ने पक्षमै हुनुहुन्थेन । उहाँ बाध्यतावस आउनुभएको हो । त्यसो हुनाले नेकपा एमाले कहिल्यै पनि संविधानको विरोधी पार्टी होइन, हुने छैन । यहाँ संविधानले स्थापित गरेको संस्थाहरु संसद, प्रदेश संसद, स्थानीय तह, विभिन्न अंगहरु, राजयका निकायहरुलाई बलियो र संस्थागत गर्ने कार्य एमालेले गर्छ । एमाले बलियो र अग्रगामी पार्टी हो । यस्ता कुराहरुलाई हेरेर जनताले एमालेलाई मतदान गर्ने छन् ।

निर्वाचन जित्न दलहरुले विभिन्न गलत गतिविधिहरु गर्छन् । जस्तो, विपक्षीमाथि भौतिक आक्रमण भए, आर्थिक चलखेल भए । यसबारे के भन्नुहुन्छ ?
नेकपा एमाले निर्वाचनलाई गलत ढंगले प्रभावित पार्न कुनै पनि अनैतिक काम गर्दैन । गरेको पनि छैन । राजनीतिलाई पैसा, शक्तिको प्रभावबाट मुक्त गर्नुपर्छ । नत्र भने राजनीतिप्रति वितृष्णा पैदा हुँदै जान्छ र जनतामा ठूलो नैराश्यता प्रष्फुटन हुन्छ । त्यो कुरामा हामी सबै सचेत हुनुपर्छ । निर्वाचनमा विचार, एजन्डा र संगठनको आधारमा प्रतिस्पर्धा गर्नुपर्छ भन्ने नेकपा एमालेको बुझाइ हो ।

अन्त्यमा केही भन्नु छ ?
यो मंसिर ४ को निर्वाचन जनताले मताधिकार प्रयोग गरेर मतदान गर्ने निर्वाचन मात्रै होइन । यो निर्वाचन मुलुकलाई सही दिशा दिने एउटा जनमत संग्रह पनि हो । त्यो जनमत संग्रहमा नेकपा एमाले एउटा स्पष्ट जनमत भएको राष्ट्रिय सामथ्र्य भएको पार्टी हो । आजको दिनमा विभिन्न अन्तर्राष्ट्रिय खतराहरु नेपालमा बढ्दै छ । त्यो खतराबाट मुलुकलाई जोगाउन सक्ने तागत भएको दल नेकपा एमाले हो । त्यसो हुनाले यो निर्वाचनमा आम जनताले नेकपा एमालेको पक्षमा आफूलाई उभ्याएर नेपालको राष्ट्रियता, संविधानको रक्षा गर्ने छन्, भन्ने कुरामा म विश्वस्त छु ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार १५:५७   :  बजे

558
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।