नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोट–१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । साउन २४ गते राति परेको भीषण वर्षाले नुवाकोट–१ को तादीखोलामा आएको बाढीले दुप्चेश्वर ३ राउतबेशी, तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल , पञ्चकन्या २ आप्र र तादि ५ बाहुनवेशी जोड्ने पक्कि पुल, पञ्चकन्या १ को सिमारा फाँट र लिखु ३ सुर्यमति र १ ढिकुरे जोड्ने पक्की पुलहरु क्षतिग्रस्त भएका छन् ।
पञ्चकन्या र तादि जोड्ने पुलको क्षति अवलोकन गरेपछि उनले भीषण वर्षाले नुवाकोट – १ मा अकल्पनीय विनास निम्त्याएको भन्दै सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन सुचारु गर्नुपर्ने बताए । बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गर्ने महतले आश्वासन पनि दिए । बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकहरुसँगको भेटपछि डा.महतले स्थानीय जनप्रतिनिधिहरुसँँग राहत, पुनर्स्थापना र पुनर्निर्माणको बारे छलफल पनि गरेका थिए ।
उनले स्थानीय जनप्रतिनिधिहरुलाई पहिले पहिरो र बाढीले पुर्याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितहरुको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनाहरु मध्ये सानातिना र थोरै रकमले हुने मर्मतसंभार पालिकाको बजेटबाट सम्पन्न गर्न सुझाव दिए । महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाको हकमा प्रदेश सरकार र संघीय सरकारसंग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने वचन दिएका थिए ।




















प्रतिक्रिया