काठमाडौं । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रवार दिउँसो ट्याक्सी चढेर शीतल निवास पुगेकी उनले सडकमै आफैमाथी पेट्रोल छर्केर आगो लगाउन लाग्दा सुरक्षार्थ तैनाथ प्रहरीले तत्कालै उद्धार गरे ।
काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा रहेकी उनी शुक्रवार आत्मदाहको योजनासहित शीतल निवास पुगेकी थिइन् । आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी उनले आत्मदाहको प्रयास गरेकी हुन् । नहिारिकाले गत २० साउनबाट आमरण अनशन सुरू गरेकी थिइन् । प्रहरीले निहारिकाको साथबाट लाइटर र पेट्रोल हालिएको डब्बा बरामद गरेको छ । उनलाई छोरासहित महाराजगञ्ज वृत्तमा लगिएको छ ।
‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै पुनः आमरण अनशनमा बसेकी थिइन् । यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका थिए । तर, आफूले न्याय नपाएको भन्दै उनी पुनः आमरण अनशनमा बसेकी थिइन् । १७ वर्षको उमेरमा एक पुरुषले बलात्कार गरेको भन्दै उनले आरोपित पुरुषलाई कारबाहीको माग गर्दै आमरण अनशन बसेकी हुन् । बच्चा जन्मिएपछि ती पुरुषले छाडेको उनको भनाइ छ ।
जिल्ला अदालतले आरोपीलाई आरोपीलाई सफाइ दिएपछि जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी उनले हालसम्म न्यायको अनुभूति गर्न नसकेको बताउँदै आएकी छन् । उच्च अदालतले मुद्दाको किनारा नलगाउँदा आफूमाथि थप अन्याय भएको उनले बारम्बार गुनासो गर्दै आएकी छन् ।




















प्रतिक्रिया