काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पेलेर एक्लौटी ढंगले अघि बढेको भन्दै शेखर कोइराला पक्षले आफ्नो समूहको बैठक बोलाएको छ । पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै सभापति देउवा अघि बढेको र हरेक निर्णय आफूखुसी गरेको आरोप शेखर समूह छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिवारका लागि आफूपक्षीय बैठक बोलाएका हुन् ।
बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाइएको बताइएको छ । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय नेताहरुको आरोप छ ।
देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गरेका छन् । कोइराला समूहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूहलाई स्थान नदिइए पछि थप असन्तुष्टि चुलिएको छ ।




















प्रतिक्रिया