Logo

प्रमुख समाचार

प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट एमालेका पौडेलको दाबी



काठमाडौं । कृषि विज्ञसमेत रहेका नेकपा एमालेका नेता कृष्णप्रसाद पौडेलले चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने तयारी गरेका छन् । उनले शनिवार पत्रकार सम्मेलन गरी उम्मेदवारको आकांक्षी रहेको जानकारी गराएका छन् ।

प्रकृति, प्रविधि र प्रवृत्तिमा आएको फेरबदलका कारण बहुसंख्यक जनसमुदायको जीवनका सबै आयामका संकट गहिरिँदै गएको भन्दै उनले देशमा भइरहेको बेथिति र कुशासनले यो संकट अझै चुलिने संकेत देखा परेको बताएका छन् । ‘यसै पृष्ठभूमिमा मैले आगामी सङ्घीय संसदीय निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिस्पर्धा गर्ने सोच बनाएको छु’ उनले भने ।

कृत्रिम रसायन र घातक विषको अन्धाधुन्ध प्रयोगले माटो र मानव स्वास्थ्य सबैभन्दी संकटमा परेको, विषादी र कंक्रिटले आफ्नो उत्पादनशील जमिन ध्वस्त पार्दै खाद्यान्न आयातमा निर्भर हुनुपरेको पौडेलले बताए । यो अवस्थालाई फेर्न राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनरुत्थान सँगसँगै गर्नु अनिवार्य रहेको बताउँदै उनले भने ‘यसका लागि राजनैतिक पुनर्जागरण र प्रकृतिको पुनर्जीवनका लागि स्पष्ट दूरदृष्टि दिने, नीतिगत निर्माण, अनुगमन र पृष्ठपोषण गर्ने मुख्य थलो संघीय संसद् प्रभावकारी बनाउनु पर्नेछ ।’

आफू ४ दशकदेखि राजनैतिक आन्दोलनमा सक्रिय राजनीति कर्मी रहेको र २०३६ सालदेखिका सबै राजनीतिक आन्दोलन र यसका उपलब्धि रक्षाका लागि निष्ठापूर्वक सक्दो योगदान पुर्‍याएको उनले उल्लेख गरेका छन् । पौडेलले आफ्नो आकांक्षाबारे पार्टीलाई जानकारी गराएको बताएका छन् । ०७४ को निर्वाचनमा चितवन २ बाट एमालेकै कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार १९:०२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।