काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे कार्यकर्ता भएकाे भन्दै कटाक्ष गरेका छन् । कांग्रेस अब लोकतान्त्रिक पार्टी नरहेको ओलीकाे टिप्पणी छ ।
पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस कहीँकतै लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले अब आफूलाई लोकतान्त्रिक पार्टी भन्नु बेकार छ । कांग्रेस अहिले प्रचण्डको कार्यकर्ता हो ।’
कांग्रेस विचार, आचरण, नीति, सिद्धान्त र व्यवहार केहीमा पनि लोकतान्त्रिक नरहेको उनले दाबी गरे । उनले भने, ‘कांग्रेस इतिहासमा पनि पटक–पटक ठूलाठूला अलोकतान्त्रिक काम गरिआएको पार्टी हो । देशहित विपरीत काम गर्दै आएको छ । अनुभवबाट सिक्ला की भनेको झन् झन् बिग्रिँदै गएको छ ।’
माओवादी केन्द्र ‘प्रचण्ड एण्ड कम्पनी’ रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेस पनि त्यसैको पछिपछि दौडेको बताए । कांग्रेसको नीति कार्यक्रम नै गठबन्धन रहेको र त्यसको उद्देश्य एमालेलाई रोक्ने रहेको ओलीको भनाइ थियो । ‘कांग्रेसको नीति, कार्यक्रम, पुग्ने कहाँ हो भन्दा गठबन्धन । गठबन्धन गरेर के गर्ने भन्दा गठबन्धन । गठबन्धनका सबै पार्टीका सबै नेताहरूको जहान, परिवार छन् त्यसका लागि गठबन्धन गर्ने’, उनले भने ।
एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य रोक्नका लागि लोसपा, जसपा, नेसपा, एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसलगायत मिलेको उनको भनाइ थियो ।




















प्रतिक्रिया