काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनलाई एकीकृत गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले आफू अहिले वामपन्थी आन्दोलनलाई एकीकृत गर्न सक्रिय रहेको उनले बताए ।
रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा बिहीवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले ‘हामी नेतृत्व पुरानै तरिकाले, पुरानै रुपमा मात्रै अगाडि बढेर अबको क्रान्ति या अबको राष्ट्रको आवश्यकता पूरा हुन सक्दैन । कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुविकृत गर्ने, एकीकृत गर्ने काम भइराखेको छ ।’
निर्वाचन पनि संघर्षकै एउटा चरण भएको भन्दै उनले यतिबेला वामपन्थीहरुबीच एकता र ध्रुवीकरण होस् भनेर आफूहरुले प्रयास गरेको बताए । उनले माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने डा। बाबुराम भट्टराई र बामदेव गौतमको निर्णय तथा पार्टी एकता संयोजन समिति गठन गर्ने एकीकृत समाजवादीको तयारीको प्रसंग जोडे ।
तर यतिले मात्रै नपुग्ने भन्दै उनले भने, ‘अझ धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्य पूरा गर्न हामीले अझ धेरै मिहिनेत गर्नुपर्ने छ ।’ उनले निरन्तरतामा क्रम भंग गर्ने प्रक्रिया फेरि सुरु भएको बताए ।
प्रचण्डले माओवादीमा क्रान्तिकारी स्पिरिट कमजोर हुँदै गएको बताउँदै भनाइ र गराईको अन्तरविरोध हल गर्ने उपाय खोज्न सुझावसमेत दिए । अन्यथा माओवादीहरुले हामी क्रान्तिकारी हौं भन्ने औचित्य सिद्धिने उनले चेतावनी दिए ।




















प्रतिक्रिया