Logo

राजनीति

सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग लोसपाका नेताहरुको छलफल



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेताहरुले सत्ता गठबन्धनमा सहभागिता एवं समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरूबीच सत्ता गठबन्धनमा सहभागिता, आगामी निर्वाचनमा चुनावी तालमेललगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

नेता महतोले पार्टीले उठाउँदै आएको मुख्य विषय नागरिकता विधेयक अघि बढिसकेकाले पाँच दलीय गठबन्धनबाट निर्णय भएको खण्डमा सत्ता सहकार्य गर्न तयार रहेको बताए । उनले भने, “मुख्य कुरा नागरिकता विधेयक अघि बढिसकेको छ । अर्को विषय पाँच दलीय सत्ता गठबन्धनमा लोसपालाई सहभागिता गराउने निर्णय गरियोस् त्यसो भएमा हामी गठबन्धनमा सहकार्य गरेर जान्छौँ । प्रधानमन्त्रीले गठबन्धनमा आउनुस् भन्नुभएको थियो त्यसबारे चाँडो टुङ्ग्याइदिन हामीले भन्यौँ ।”

नेता महतोले सत्ता साझेदारिता, चुनावी तालमेलका विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको बताए । “प्रधानमन्त्रीसँग हाम्रा माग र मुद्दाबारे कुरा राख्याैँ । विशेषगरी नागरिकताका विषयमा कुराकानी गर्‍यौँ । विधेयकलाई प्रक्रिया पुर्‍याएर आजै संसद्बाट टुङ्गो लगाउने भन्नुभएको छ”, उनले भने ।

नेता महतोले प्रधानमन्त्रीको प्रस्तावप्रति आफूहरु सकारात्मक रहेको भन्दै उक्त प्रयोजनका निम्ति गठबन्धनले निर्णय गरेको खण्डामा सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीसँगको छलफलमा लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता महतो, शरतसिंह भण्डारी, अनिलकुमार झालगायत नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १७:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।