नेपालीमा एउटा उखान निकै प्रचलित छ मरिच किन चाउरिएको आफ्नै पिरोले, हो यो उखान जस्तै ठ्याक्कै हालत देखिएको छ माओवादी केन्द्रका नेताहरु बर्षमान पुन र जनार्दन शर्माको भएको छ ।
नेकपा माओवादी केन्द्रको महासचिवमा हानथाप गरिरहेका जनार्दन र बर्षमानको जुँगाको लडाइका कराण अर्का नेता देव गुरुङको भाग्य चम्किएको छ । मिरिच आफ्नै पिरोले चाउरिएको भने जस्तै दुवै जनाले महासचिवमा हानाथाप गरेपछि एकजना पनि परेनन् दुवै जना उपमहासचिवमा खुम्चन बाध्य भए ।
जनार्दन र बर्षमान बीचको हठका कारण गुरुङलाई भने चिठ्ठा परेको छ । पुन र शर्मा मध्ये एक जना मात्रै पनि व्याक भएर अर्कोलाई समर्थन गरेको भए उनीहरु मध्ये कोहि एक महासचिव बन्ने थिए गुरुङले अर्को कुन पद पाउँथे होला तर दुई नेता एकले अर्कोलाई कुनै हालतमा नछोड्ने बरु घटुवा हुन तयार भएपछि गुरुङ अध्यक्ष पछिको सबैभन्दा शक्तिशाली पद पाउन सफल भए ।
गुरुङ महासचिव नबने पछि शर्मा र पुन दुवै माओवादी केन्द्रको उपमहासचिव बनेका छन् । प्रचण्डले ७ जना त उपमहासचिव नै बनाएका छन् । अहिले दुवै जना ७ जनाको भिडमा परेका छन् । यदि दुई जना मध्ये एकले अर्कोलाई महासचिवमा समर्थन गरेको भए अर्कालाई उपाध्यक्ष बनाउँन प्रचण्ड तयार थिए तर उनीहरु बरु घटुवा हुन तयार भए तर एकले अर्कालार्ई महासचिव स्विकार गर्न तयार भएनन् ।
माओवादीको गत पुस ११ गते महाधिवेशन सुरु भएदेखि नै सबैभन्दा बढी चर्चा महासचिव को बन्ने भन्नेमै थियो । महाधिवेशनबाटै पदाधिकारी टुङ्गो लगाउन जनार्दन शर्मा लगायत प्रायः सबैजसो शीर्ष नेताहरूले दवाब दिएका थिए । उता चीनमा उपचाररत वर्षमान पुनले तत्काल पदाधिकारी टुंगो नलगाउन प्रचण्डसहित आफू निकट नेताहरूलाई दवाब दिएका दिएका थिए ।
अन्त्यमा प्रचण्डले पार्टीका सिनियर नेता पुन र ओनसरी घर्ती देश बाहिर भएकाले उनीहरू फर्किए लगत्तै पदाधिकारी टुंंगो लगाउने बचन दिए । त्यसपछि महाधिवेशनबाट आफूलाई अध्यक्षमा अनुमोदन गराउँदै अपूर्ण केन्द्रीय कमिटी घोषणा गरे । त्यसपछि महाधिवेशन सकियो ।
पुन चीनबाट उपचार गरेर फर्किएपछि पदाधिकारी टुङ्गो लगाउन पार्टीका नेताहरूले निकै दवाब दिए । तर, स्थानीय चुनावपछि पदाधिकारी चयन गर्ने भनेर प्रचण्डले यो विषय त्यत्तिकै थाती राखे । स्थानीय चुनाव सकिएपछि महासचिवमा शर्मा र पुन सहित शक्तिबहादुर बस्नेत, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायत नेताहरूले इच्छा देखाएको भन्दै निकै प्रचार भयो । त्यसमा मुख्य दाबेदारको रूपमा शर्मा र पुनको नाम प्रचारमा थियो । यस्तै केन्द्रीय समिति बैठकले पनि पदाधिकारीको टुङ्गो लगाउन दवाब दियो ।
नेताहरूको दवाबपछि यहीबीचमा अध्यक्ष प्रचण्डले आकांक्षीहरुबीच छलफललाई तीव्रता दिए । प्रचण्डको छलफलका क्रममा महासचिवको प्रतिस्पर्धामा रहेका पुनले त अध्यक्ष प्रचण्डलाई सहज हुन्छ भने आफू छोड्न तयार भएको भन्दै भावुक अभिव्यक्ति दिए ।
‘पार्टीको महाधिवेशन थियो । म चीनमा उपचाररत थिएँ । त्यतिबेला स्वास्थ्य क्रिटिकल थियो । राम्रो उपचार पाएर फर्किएँ’ पुनले छलफलका क्रममा प्रचण्डलाई भनेका थिए, ‘अध्यक्ष प्रचण्डलाई सहज हुन्छ भने महासचिव छोड्न तयार छु । पार्टीले जुन जिम्मेवारी दिन्छ लिन तयार छु ।’
त्यसपछि प्रचण्ड महासचिवमा शर्मालाई बनाउने मुडमा देखिएका थिए । त्यति नै बेला बजेटमा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन समिति गठन भएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिए । तर छानबिनबाट क्लिन चिट पाएपछि शर्मा अर्थ मन्त्रालय पुगे । शर्माको पुनः अर्थ मन्त्रालयमा प्रवेश भएपछि पार्टीभित्र पनि छलफलले नयाँ मोड लिएको बताइन्छ ।
नेताहरूका अनुसार प्रचण्डले पुन र शर्माको विकल्पबारे तीन–चार वटा मापदण्ड बनाएका थिए । त्यसमध्ये एउटा मापदण्डमा आकाङ्क्षीमध्ये वरिष्ठलाई दिने भन्ने भयो । ‘आकाङ्क्षी दुवै जनाबीच सहमति नजुटेपछि हामीले बनाएको नयाँ मापदण्डमा वरिष्ठतालाई आधार बनाऊँ भन्ने भयो,’ एक नेताले भने, ‘त्यसमा देव गुरुङलाई बनाऊँ भन्ने प्रस्ताव आउँदा कसैबाट पनि विमति भएन ।’
महासचिव गुरुङ २०६९ मा मोहन वैद्यले पार्टी विभाजन गर्दा प्रचण्डलाई छोडेर गएका नेता हुन् । त्यतिबेला गुरुङको सबैभन्दा आलोचनाको तारो प्रचण्ड र बाबुराम भट्टराई हुने गरेका थिए । दोस्रो संविधान सभा चुनावमा गुरुङसहित वैद्य नेतृत्वको माओवादीले सशक्त बहिस्कार गरेको थियो । वैद्यहरूको विरोधकाबीच २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान घोषणा भयो । त्यसपछि वैद्य समूहबाट विद्रोह गरेर रामबहादुर थापाको नेतृत्वमा गुरुङसहितका नेताहरू माओवादीमा समाहित भएका थिए ।
माओवादीमा समाहित भएपछि भने गुरुङले प्रचण्डको निकट भएर काम गर्दै आएका थिए । हाल गुरुङले संसदीय मोर्चामा पार्टी प्रमुख सचेतको जिम्मेवारी समेत निभाउँदै आएका छन् । शर्मा र पुन महासचिवको प्रतिस्पर्धामा उत्रिएपछि नयाँ जुक्ति निकाल्दै प्रचण्डले आफ्नो कमाण्डमा भएका गुरुङलाई महासचिव बनाएर पुरस्कृत गरेका छन् । गुरुङले महासचिवको रूपमा कस्तो भूमिका निर्वाह गर्छन् त्यो भने समयले देखाउने नै छ ।




















प्रतिक्रिया