नेपाल बीमक संघले बिमा समितिलाई सम्बोधन गर्दै कोरोना स्थगित गर्ने औपचारिक निर्णय गरेको छ । यही साउन १४ गते बसेको नेपाल बीमक संघको बैठकले बिहिबारदेखि कोरोना बीमाको दावी भुक्तानी औपचारिक रुपमा स्थगित गर्ने निर्णय गरेको हो । बिमक संघको आह्वानमा २० वटै निर्जिवन बीमा कम्पनीहरुले कोरोना बिमाको दायित्व रकम बिमा कम्पनीहरुले थेग्नै नसक्ने गरी बृद्धि भएकाले नेपाल सरकारको दायित्वमा परेका दावी फछ्र्यौट तथा भुक्तानी नभएसम्म कुनै कोरोना बिमा दावी भुक्तानी नगर्ने जनाउँदै संयुक्त हस्ताक्षरसहित विज्ञप्ति जारी गरेका छन् ।
यद्यपि अहिले आएर कोरोना बीमाको दावी भुक्तानी स्थगित गरेपनि बिमा कम्पनीहरुले विगत छ महिनादेखि दावी भुक्तानी गरेका छैनन् । क्षमता भन्दा बढी कोरोना बीमाको दावी भुक्तानी गर्न नसक्ने भन्दै बीमक संघले औपचारिक रुपमा स्थगित गर्ने निर्णय गरेको हो । हालसम्म १ लाख ३७ हजार ७५४वटा कोरोना बिमा दावी बापत १३ अर्बभन्दा बढी दावी भुक्तानी भइसकेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
स्रोत व्यवस्थापन भएको साढे तीन अर्ब रुपैयाँ गत पुसभित्रै बीमितहरुलाई वितरण गरेर सकिएपछि कोरोना बीमाको दावी भुक्तानी स्रोत अभावमा रोकिएको हो । कोरोना बीमाको दावी भुक्तानी कम्पनीहरुले गर्ने भएपनि बीमा पुलमार्फत सञ्चालन गरिएकोले स्रोत व्यवस्थापन बीमा समितिले गर्नुपर्ने हुन्छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार साढे तीन अर्ब रुपैयाँभन्दा बढिको दायित्व नेपाल सरकारले व्यहार्ने भन्ने उल्लेख छ । तर, सरकारले रकम निकासा गर्न बजेटमा व्यवस्था नभएकोले कानुनी झमेला उत्पन्न भएको छ । सो सम्बन्धमा सर्वोच्च अदालतमा समेत मुद्दा परेकोले विचाराधिन मुद्दामा प्रक्रिया अघि बढाउन कानुनी झन्झटहरु थपिन पुग्दा कोरोना बीमाको दावी भुक्तानी अनिश्चित जस्तै बन्न पुगेको छ ।
संघको निर्णयसँगै २० वटै बीमा कम्पनीका सिईओहरु बीमा समितिमा पुगेर कोरोना बीमाको दावी भुक्तानी औपचारिक रुपमा स्थगित गर्ने निर्णय गरिएको जानकारी गराएका छन् । बीमा समितिले बीमा कम्पनीहरुको निर्णयपश्चात प्रतिक्रिया दिएको छैन ।
























प्रतिक्रिया