Logo

प्रमुख समाचार

गठबन्धनमा माधव नेपालको फेरि अपमान



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सम्मान र अपमान भन्ने शब्द धेरै नै प्रयोग गर्दछन् । एमालेमा रहँदा पनि अपमान भयो भनेरै निस्किएका उनी नेकपा एस खोले पनि अपमान भएको भन्न छोडेका छैनन् ।

गठबन्धन भित्रै पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)हरुले अपमान गर्ने गरेको भन्ने गरेका एसका अध्यक्ष नेपालले केहि समय यता भने त्यस्तो कुरा गर्न छोडेका थिए । बाहिर खासै चर्चामा नआएको कुरालाई नेपाल आफैले खोलेका छन् ।

भित्र भित्रै भने नेपालको चरम अपमान चलिरहेको पाइएको छ । अध्यक्ष नेपालनै यो कुराको खुलासा गरेका छन् । गठबन्धन भित्र नेकपा एसको देशभरीको भोट जम्मा ४ लाख भनेर अवमूल्यन गर्ने गरिएको उनले सुनाएका छन् । यस्तो हिसाब मान्य नहुने उनको भनाई छ ।

नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क आएको उनले बताए । तर आफूहरुले पोखरा महानगरपालिकामा मेयर लिएकै कारण वडामा उम्मेदवारी दिन नदिएकाले यो हिसाब नमिल्ने बताए ।

२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको दाबी गर्दै उनले भने, ‘देशभर उम्मेदवारी दिएको भए १५ देखि २० लाख भोट पाउन सक्दथ्यौं । १५ देखि २० लाख भोट पायौं भने १५ र२० वटा सिटलाई कसैले रोक्न सक्दैन ।’

आफ्नो दललाई अवमूल्यन गर्न खोजे मुखदर्शक भएर नबस्ने र जनतामाझ जाने उनले बताए । नेपालले तत्कालिन नेकपा एमालेमा रहँदा केपी ओली प्रवृतिको समयमै विश्लेषण गर्न नसक्दा पार्टी विभाजन गर्नुपरेको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेका कमजोरी र असन्तुष्टि समेटेर गुट बनाएको र अन्त्यमा पार्टी कब्जा गरेको बताए ।

‘ओली गुट यो तहमा कसरी आयो ? पुस ५ पछिको मात्रै विश्लेषण गरेर मात्रै पुग्दैन’, अध्यक्ष नेपालले भने, ‘ नेपालको राजनीतिमा केपी ओलीले कहिलेदेखि गुटबन्दीको सुरुवात गरे र त्यस गुटबन्दीका विरुद्ध जुध्ने काम हामीले किन गर्न सकेनौ ?’ उनले ओलीको गुटबन्दीविरुद्ध जति जुध्नुपर्ने थियो त्यति जुध्न नसकेको स्वीकार गरे ।

‘झापा संघर्षको बेला पनि को(के कालमा पनि जुध्ने काम भएको थियो । नेकपा मालेको कालमा पनि जुध्ने काम भएको थियो । एमालेकालमा पनि जुध्ने काम भयो तर जति जुध्नुपर्ने हो त्यति जुध्न सकेनौ’, अध्यक्ष नेपालको भनाइ छ । जुध्न नसक्दा ओलीको गुट विस्तारै बलियो हुँदै गएको नेपालले बताए । ‘जुध्न नसक्दा उनको गुट बलियो हुँदै गयो, भ्रम फैलाउँदै गए । विभिन्नलाई गोलबन्द गराउँदै गए र नवौं महाधिवेशनमा पार्टीको शक्ति हाँसिल गरे’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ ।

उनले पार्टी अध्यक्ष भएपछि वास्तविक चरित्र उजार हुँदै गएको भन्दै पार्टी एकता भएपछि आफूहरु खुसी भएपनि ओलीले आफ्नै पहलमा एकता भएको भनेर अहंकार देखाएपछि समस्या भएको बताए । अध्यक्ष नेपालले गुटवादल, भ्रष्टिकरण जस्ता रोग अहिले पनि कम्युनिस्ट आन्दोलनमा कायमै रहेको बताए । ‘सम्भावना राम्रो छ । तर हाम्रा सामु रहेका चुनौतीलाई वेवास्ता गर्यौ भने सम्भावनालाई उपयोग गर्न सक्दैनौ हामी समयमै विश्लेषण गर्न सकेनौ’, उनले क्रान्तिकारी विचारको आधारमा त्यस्ता पार्टीहरूबीच एकता गर्न जरुरी रहेको पनि बताए ।

उनले ओलीको व्यक्तिवादी र दक्षिणपन्थी अवसरवादी तथा विदेशी सामु लम्पसारवाद पर्ने प्रवृति अझै रहेको भन्दै यो प्रवृति कम्युनिस्ट पार्टीमा मात्रै नभएर नेपालको समग्र राजनीतिमा देखापरेको गम्भीर प्रवृति भएको बताए । ‘यसविरुद्ध सवै लोकतान्त्रिक शक्तिले जुध्नुपर्दछ’, अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहीबार १८:०३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।