Logo

अनलाइनपाना खोज

बागमतीका मेयर थापासहित १५ जना विरुद्ध हत्याको आरोप, कहाँ पुग्यो अनुसन्धान ?



काठमाडौं । सर्लाहीको बागमती नगपालिकाका प्रमुख भरत कुमार थापा विरुद्ध हत्याको आरोपसहित किटानी जाहेरी परेको झण्डै एक वर्ष पुग्न लाग्दा पनि दोषी खुलेयाम हिँडिरहेका छन् ।

आफ्ना पूर्व सहकर्मी सर्लाहीका कुमार पौडेलेको हत्या गरेको आरोप लगाउँदै पौडेलका परिवारले उनीसहित १५ उच्च पदस्थ व्यक्तिविरुद्ध २० असोज २०७८ मा किटानी जाहेरी दिएका थिए ।

विशेष ब्यूरोबाट खटिएको टोलीको गोलीबाट ५ असोज २०७५ मा विप्लव माओवादीका नेता पौडेल मारिएका थिए । प्रहरीले त्यसवेला उनी दोहोरो भिडन्तमा मारिएको दाबी गरे पनि राष्ट्रिय मानव अधिकार आयोगको छानविनमा भने उनलाई नियन्त्रणमा लिएर गोली हानेको देखिएको थियो ।

जाहेरीमा कुमारको हत्या भएको दाबी गर्दै सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालीन डीआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाही मलगंवामा कार्यरत डा. बीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न भनिएको छ ।
जाहेरीमा पूर्वगृहमन्त्री रामबहादुर थापा र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालमाथि पनि अनुसन्धान गर्न पनि माग गरिएको छ ।

कहाँ पुग्यो अनुसन्धान ?

तर उक्त घटनाको अहिलेसम्म पनि कुनै टुंगो लागेको छैन् । यस विषयमा सर्लाहीका प्रहरी प्रमुखसँग कुरा गर्दा यो राष्ट्रिय विषय भएकाले केन्द्रीय प्रहरीसँग नै बुझ्न सुझाए । प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राई पनि यो राजनीतिक विषय भएकाले गृहसँग बुझ्न भन्दै पन्छिए ।

अनलाइनपानाले गृह मन्त्रालयमा उक्त विषयमा कुरा गर्दा नाम एक उच्च अधिकारीले भने, ‘यो राजनीतिक विषय भएकाले कसैले पनि ठ्याक्कै यही हो भनेर बोल्न नमिल्ने अवस्था छ। अनि अर्को कुरा अनुसन्धानमा भइरहेको विषय अहिले नै बोल्न मिल्दैन ।’

यस विषयमा बुझ्न तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादललाई फोन र म्यासेज गर्दा कुनै प्रतिक्रिया आएन । बागमतीका मेयर थापाको पनि फोन उठेन ।

उनीहरू विरुद्ध कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले किटानी जाहेरी दिएकी हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १४:५१   :  बजे

3.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।