काठमाडौं । फिल्म ‘राधा’ले प्रदर्शन रोक्ने निर्णय गरेको छ । ललितपुरमा मंगलबार आकस्मिक पत्रकार सम्मेलन गर्दै फिल्म निर्माताले प्रदर्शनबाट पछि हटेको जानकारी दिए । हलले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै प्रदर्शन रोक्ने निर्णयमा गरएको निर्माताले जनाएको छ ।
‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो । दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन् । सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्मात्री देवकी विष्टले भनिन्, ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं ।’
तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि उनले लगाइन् । आफूहरुले प्रिमियरमा उपस्थित भएर प्रतिस्पर्धी फिल्म ‘प्रकाश’लाई सहयोग गरेजसरी सहयोग नपाइएको गुनासो पनि उनले गरिन् । ‘हामी उहाँहरुको प्रिमियरमा पुगेर प्रचारमा सघाएका थियौं, तर निम्तो दिंदा पनि उहाँहरु प्रिमियरमा आउनुभएन,’ अनलाइनखबरसँग विष्टले भनिन् ।
सुवर्ण थापा निर्देशित फिल्म राधाले क्रिटिक्सबाट राम्रो समीक्षा पाए पनि अपेक्षित शो पाउन सकेको छैन । सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको यो फिल्मले हराएका पतिको खोजी गर्न एकल आमाले गरेको संघर्षको कथा पस्केको छ ।





















प्रतिक्रिया