Logo

अन्तर्वार्ता

‘समृद्ध र सुन्दर चापाकोट’ नै हाम्रो उद्देश्य हो : नगर प्रमुख खाण



स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० मा आ–आफ्ना भू–बनावट, हावापानी, सामाजिक परिवेश तथा विषेशताका आधारमा प्राथमिकताका विषय क्षेत्र निर्धारण गरेर ल्याएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सुरु गरेका छन् । तर केही पालिकाले भने अझै पनि बजेट पेश गर्न सकेका छनन् । तर समयमै बजेट ल्याएको स्याङ्जाको चापाकोट नगरपालिकामा यस वर्ष सञ्चालन हुने योजना तथा कार्यक्रमहरु धमाधम सुरु भएका छन् ।

कृषि योग्य जमिनले ओगटेको नगरपालिकाले चालु आर्थिक वर्षमा कृषिलाई नै प्राथामिकतामा राखेर बजेट ल्याएको छ । नगरपालिकामा अन्य के कस्ता गतिविधि सञ्चालन भइरहेका छन् र आगामी योजना कस्तो छन् ? यी समग्र विषयमा केन्द्रित रहेर अनलाइनपानाकर्मी रामनाथ कुँवरले चापाकोट नगरपालिकाका प्रमुख देवबहादुर खाणसँग गरेको कुराकानी :

कार्यकालको प्रारम्भमा हुनुहुन्छ । सुरुवाती तरण्मा नरपालिकाभित्र कस्ता काम अघि सार्नुभएको छ ?
हामी निर्वाचित भएर आएपछि नगरपालिकाको काम निरन्तर चलिरहेको छ । हामीले नगरसभाको पहिलो बैठकबाट महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्थाम्म निःशुल्क लैजान व्यवस्था मिलाएका छौं । त्यसैगरी कक्षा १२ सम्मको विद्यार्थीहरुलाई २० प्रतिशत छात्रावृत्तीको व्यवस्था मिलाएका छौं । पशु बिमा गर्ने कार्यक्रम पनि अगाडि बढाएका छौं । हाम्रो नगरपालिकामा धेरै खेतीयोग्य जमिन छ । त्यसो हुनाले हामी धेरै भन्दा धेरै उत्पादन गर्न किसानहरुलाई व्यवसायिक बनाउने योजना बनाएका छौं । बाटोको स्तर उन्नती गर्ने हाम्रो योजना छ । खानेपानीको अझै व्यवस्थापन गर्दै जाने छौं । चालु आर्थिक वर्षमा हामीले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्रथामिबता दिएर बजेट ल्याएका छौं ।

हाम्रो चापाकोट नगरपालिकामा पर्यटनको पनि धेरै सम्भावना छ । चापाकोट नगरपालिका भएर बुढीगण्डकी नदि बगेको छ । केराली घाटमा मन्दिरहरु छन् । त्यसैगरी अन्य पर्यटकीय स्थलहरु पनि छ । यी सबैलाई हामी अझ व्यवस्थित गर्दै लैजाने योजनामा छौं । हाम्रो नगरपालिकामा ग्रामीण भू—भाग बढी छ । नगरको तल्लो भाग वडा नम्बर ८, ९ र १० मा भने सडक पिच गरिसकिएको छ । त्यसैगरी वडा १, २, ३, ४ सडक पिच बन्ने क्रममा छ । अबको एक वर्षमा हामी नगरपालिकाको सबै घरमा एक घर एक भारा पु¥याउने हाम्रो योजना छ ।

चापाकोट नगरपालिकामा प्रमुख समस्याहरु चाहिँ के के रहेछन् ?
विकास भन्ने कुरा कुनै एक व्यक्तिले गरेर हुने होइन । विकास गर्न हामी सबैको उतिकै भूमिका हुन्छ । पालिकाको विकासका लागि सबै पार्टी एक हुन आवश्यक छ । संविधानले स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्षको व्यवस्था गरेको छैन । त्यसो हुनाले स्जानीय जनप्रतिनिधिहरु एकदमै एकजुट हुन आवश्यक हुन्छ । पालिकामा जनप्रतिनिधिहरुले राजनीतिक पूर्वाग्रहमा काम गर्नु नै मुख्य समस्या हो । त्यसैगरी जनताको माग र आवश्यक्ता धेरै हुनु तर बजेट कम हुनु पनि अर्को समस्या छ । तर पनि हामी यी समस्याहरुको सामना गर्दै अगाडि जाने छौं । चापाकोटको विकासका लागि हामीले प्रत्यक क्षेत्रका विज्ञहरुसँग छलफल गरेर अगाडि जाने योजना बनाएका छौं ।

अहिले बर्खाको समय हो । चापाकोटमा बाढी—पहिरोको जोखिम कस्तो छ ?
प्राकृतिक विपत्तिहरु बर्खामा मात्रै नआएर, जुन कुनै समयमा आउन सक्छ । जहाँसम्म बाढी—पहिरोको कुरा छ, हाम्रो पालिकामा यस वर्ष एकदमै ठूलो विपत्ति आएको छैन । विधिन्न ठाउँमा पहिरो जाने बाटो अवरोध हुने जस्ता सामान्य घटनाहरु भने भइरहेका छन् । ठाडो खोलाहरुले केही स्थानमा खेतीयोग्य जमिनमा कटान गरेको छ ।

यो कार्यकालमा चापाकोटको विकासका लागि संघ र प्रदेशसँग कसरी समन्वय गरेर जाने योजना छ ?
मैले अगाडि पनि यस विषयमा केही कुरा भनिसकेको छु । पालिकाको विकासका लागि हामी जुनसुकै तहको जनप्रतिनिधिले एक भएर लाग्नु पर्छ । जुनसुकै पार्टीको सरकार बनेपनि आफु जनताको साझा हो भन्ने धाराणाले काम गर्नु पर्छ । त्यसैगरी जहाँसम्म यहाँको माग र आवश्यक्ताहरु पुरा गर्न पहल गर्ने कुरामा हामी कहिलेपनि पछि हट्दैनौं ।

नगरपालिकामा अनियमितता हुन नदिन के गर्नु हुन्छ ?
स्थानीय तहमा भ्रष्टचार धेरै भयो भन्ने कुरा गलत हो । स्थानीय तहको अघिल्लो कार्यकालमा केही पालिकाहरुले त्यस्तो बदमासी गरेका हुन् । तर सयमा एकले गलत गर्दा सबैले गलत गर्छ भन्ने हुँदैन । जहाँ अनिमितता भएको छ । त्यहाँ छानबिन हुन जरुरी छ । दोषीलाई कारबाही गर्नु पर्छ । स्थानीय तह जनताको नजिकको सरकार हो । त्यसो हुनाले कुनै स्वार्थ नलिएर जनताको हितमा काम गर्नु पर्छ । हामी सबैको सहमतिमा, सहकार्यमा नीति नियम र प्रक्रियामा रहेर काम गर्ने छौं ।

जनताबीचको सम्बन्ध सुमधुर बनाउन के गर्दै हुनुहुन्छ ? के गर्ने योजना छ ?
स्थानीय सरकार र स्थानीय जनताबीचको सम्बन्ध एकै भान्सामा खाना खाने परिवारको जस्तो हुनु पर्छ । त्यसो हुनाले जनप्रतिनिधिले टाठा—बाठाको कुरामा मात्रै विश्वास नगरी स्थानीय वासीको कुरा सुन्ने गर्नु पर्छ हामी त्यही गर्दै छौं । समय—समयमा टोल—टोलमा पुगेर छलफलहरु गर्ने छौं । प्रत्यक्ष रुपमा जनताको गुनासो सुन्ने छौं । हामी जनप्रतिनिधि र जनता सबैको सपना चापाकोटलाई समृद्ध र सुन्दर नगरपालिका बनाउने हो । यो उद्देश्यमा हामी सबै एक जुट भएर जाने छौं । यसमा हामीलाई जनताको भरपुर साथ र सहयोग रहन्छ भन्नेमा विश्वास छ ।

प्रकाशित मिति : १४ भाद्र २०७९, मंगलवार १८:१४   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।