Logo

अन्तर्वार्ता

पर्यटकलाई तानसेन जाउँ-जाउँ लाग्ने बनाउँछौं : नगर प्रमुख श्रेष्ठ



स्थानीय तहहरुले आर्थिक वर्ष २०७/८० मा आ–आफ्ना भू–बनावट, हावापानी, सामाजिक परिवेश तथा विषेशताका आधारमा प्राथमिकताका विषय क्षेत्र निर्धारण गरेर ल्याएका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन सुरु गरेका छन् । तर केही पालिकाले भने अझै पनि बजेट पेश गर्न सकेका छनन् ।

समयमै बजेट ल्याएको पाल्पाको तानसेन नगरपालिकाले पनि चालु आर्थिक वर्षमा कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । त्यस्तै पूर्वाधारलाई पनि महत्व दिएर कार्यक्रमहरु अगाडि बढाएको नगरपालिकाले बताएको छ । यी समग्र विषयमा प्रमुख सन्तोष लाल श्रेष्ठसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानी :

कार्यकालको प्रारम्भिक चरणमा हुनुहुन्छ । तानसेन नगरपालिकामा विकासका गतिविधिहरु कसरी अगाडि बढाउनुभएको छ ?
हाम्रो तानसेन नगरपालिका करिब ८० प्रतिशत ग्रामीण क्षेत्रले ओगटेको छ । यहाँको बाटो, विजुली, पानी लगायतका पूर्वाधारको विकास गर्नुपर्ने भएको छ । तानसेनको पुरानो ऐतिहासिक बजार साह्रै साँघुरो भएको छ । हामीले बजार र ग्रामीण क्षेत्रको समानुपातिक रुपमा विकास गर्दै जाने योजना बनाएका छौं । शिक्षा, स्वास्थ्यका क्षेत्रमा विकास गर्दै श्रीनगरको सौन्दर्य प्रचलित गर्ने रानी महल, ऋषिकेश जस्ता महत्वको स्थलहरुको विकास गर्ने, फोहोर मैला व्यवस्थापन गर्ने हामीले योजना बनाएका छौं ।

त्यसैगरी हामीले तानसेनको विकास गर्न कृषि र पर्यटनलाई बढी महत्व दिनु पर्छ भनेर योजना बनाएका छौं । अधिकांश मानिसहरु कृषिमा आधारित छन् । खेतीयोग्य जमिन बाँझो राखेर विदेश पलायन हुनेलाई रोक्नु पर्ने छ । कृषि क्षेत्रबाट नै स्वरोजगारको कार्यक्रमहरु सम्पन्न गर्ने हाम्रो योजना छ । पशुपालन र तरकारी तथा फलफूल उत्पादन वृद्धि गर्न विभिन्न पकेट क्षेत्र निर्धारण गरेर हामी व्यवसायिक रुपमा अगाडि बढ्ने छौं । कृषिमा विभिन्न अनुदानका कार्यक्रमहरु पनि छन् ।

पर्यटनको क्षेत्रमा श्रीनगर डाँडालाई सुन्दर तरिकाले व्यवस्थित गरेर आन्तरिक र वाह्य पर्यटकहरुलाई त्यहाँ ल्याउने वातावरण निर्माण गर्दैछौं । ऋषिकेश मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने छ । स्वादेशी र विदेशी पर्यटकलाई तानसेन घुम्न जाउँ—जाउँ लाग्ने बनाउँछौं ।

तानसेनको विकासमा प्रमुख चुनौतीहरु के–के रहेछन् ?
तानसेन नगरपालिकामा खानेपानीको समस्या मुख्य रुपमा देखिएको छ । उपभोक्ता समितिले रानीघाटबाट कालीगण्डकीको पानी लिफ्टिङ गरेर ल्याएको थियो । तर त्यो पूर्ण रुपमा सफल नभएकोले खानीपानीमा समस्या भएको हो । यो समस्यालाई छिट्टै समाधान गर्न हामीले काम सुरु गरेका छौं । फोहोर–मैला व्यवस्थापन पनि चुनौतीकै विषय हो । कृषि उत्पादनलाई बजारको व्यवस्था नहुनु पनि समस्या हो । यस्ता समस्याहरु समाधान गर्न हामी निरन्तर रुपमा लागि पर्ने छौं ।

तानसेनमा यो वर्ष बाढी—पहिरोले कतिको क्षति गर्‍यो ? जोखिम के कस्ता छन् ?
ग्रामीण क्षेत्र बढी भएकोले गाउँ—गाउँमा डोजर लगाएर मोटर बाटो खोलियो, सबै ठाउँमा सडक सञ्जाल पु¥याउने भन्दा त्यस्ता बाटोमा धेरै पहिरो गएको छ । खेती राम्रो फल्ने जमिनलाई पहिरो, लेदो र बालुवाले पुरेको छ । हाम्रो स्रोत साधनले भ्याएसम्म दैनिक रुपमा नै त्यो पहिरोहरु पन्छाएका छौं । हाम्रो पालिकामा यो बर्खामा बस्ती नै सार्नुपर्ने जस्तो समस्या आएको छैन । पहिरोले कही घरहरुलाई असर गरेको छ । नगरपालिकाको क्षमताले भ्याएसम्म हामी ती घरहरुको क्षतिपूर्ति दिने छौं ।

नगरपालिकाको विकासका लागि प्रमुख रुपमा बजेट नै प्रशस्त हुनुपर्यो । यसका माथिल्लो तहका सरकारसँग कसरी समन्वय गर्दैैहुनुहुन्छ ?
हामी बहुदलीय व्यवस्थमा छौं । हामी कुनै एक दलले मात्रै विकास गर्न सकिँदैन । सबैसँग सहकार्य गरेर विकासमा अगाडि बढ्नु पर्छ । त्यसैगरी हामी संघीयताको अभ्यासमा छौं । संघीयताका हरेक अंगहरु एक हुन जरुरी हुन्छ । संघ, प्रदेश र स्थानीयमा फरक पार्टीको सरकार भए पनि सहकार्य गरेर मिलेर अगाडि बढ्नु पर्छ । हामी तानसेनको विकासका लागि निर्वाचित भएर आएदेखि नै संघ र प्रदेशसँग आफ्नो मागहरु राखिरहेका छौं ।

यहाँको जनताको माग र आकांक्षा धेरै छ । त्यसो हुनाले बजेट जति भए पनि नपुग्ने अवस्था छ । आकांक्षा जति भए पनि हामीले यहाँको मुख्य आवश्यक्तालाई महत्व दिएर काम गर्नु पर्छ । त्यसैगरी हामीले विभिन्न संघ संस्थाहरुसँग पनि सहकार्य गरेर काम गर्ने योजना बनाएका छौं । यसरी सबैसँग हातेमालो गरेर काम गर्दा हामीले निर्धारण गरेको लक्ष्यमा हामी पुग्छौं भने हामीलाई विश्वास छ ।

नगरपालिकाको क्रियाकलापमा जनसहभागीता कसरी गराउँदै हुनुहुन्छ/गराउनुहुन्छ ?
हामीले चालु वर्षको बजेट पनि जनतासँग भरपुर छलफल गरेर, सबै वडाको भौगोलिक अवस्थाको पहिचान गरेर बनाएका छौं । बजेट बनाउँदा जनतासँग छलफल गरेका छौं भने कार्यान्वयन गर्दा पनि हामी जनताको सहभागितामा नै गर्ने छौं । प्रत्येक वडामा समान रुपले बजेट विनियोजन गरिएको छ । यो पूरै कार्यकालभरी हामी जनताको साथ रहेर, उहाँहरुको सलाह सुझावलाई ध्यानमा राखेर हामी काम गर्ने छौं । हामीलाई जनताले नै जनप्रतिनिधि बनाएका हुन् । उहाँहरुको हितमा नै हामी कार्यकाल गुजार्ने छौं ।

स्थानीय तह भ्रष्टाचारको अखडा बन्यो भन्ने आरोप लाग्दै आएको छ । तपाईँको नगरपालिकामा भ्रष्टचार हुन नदिन के गर्नु हुन्छ ?
हामी सुशासनमा बस्नु पर्छ । राजनीतिकर्मीका लागि सुशासन एकदमै महत्वपूर्ण कुरा हो । किन भने कुनै पनि जनप्रतिनिधिले जनतालाई धोका दिएर अनियमतिता गरेको छ भने त्यसले आगामी दिनमा चुनाव जित्दैन । हामी लोकतन्त्रमा छौं । यहाँ जनताको मत पाए मात्रै जनप्रतिनिधि हुन पाइन्छ । गलत गर्नेहरुलाई जनताले ठेगान लगाउँछन् ।

नगरपालिकाले गर्ने हरेक काम नियम प्रक्रियामा रहेर पारदर्शी ढंगले गर्दा अनियमितता हुँदैन । कर्मचारीलाई अनियमितता गर्नबाट रोक्ने जनप्रतिनिधि आफै गलत विचारको छ भने त्यहाँ अनिमितता हुन्छ । त्यसो हुनाले हामीले रहेक योजना र कार्यक्रम गर्न नियम बनाउनु पर्छ र त्यसै अनुसार काम गर्नु पर्छ । म तानसेन नगरपालिमा त्यस्तो कुनै पनि किसिमको अनियमितता हुन दिन्न । यो कार्यकालमा तानसेनमा भ्रष्टचार हुँदैन ।

अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ?
हामी समृद्ध र सुन्दर तानसेन बनाउने अभियानमा छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, बाटो, विजुली, खानेपानी जस्ता सबै पूर्वाधारको विकास गर्दै स्वरोजगारको वातावरण सृजना गरेर तानसेनवासीलाई आयआर्जनमा जोड्ने हाम्रो योजना छ । नगरको विकास गर्न हामी प्रतिवद्ध छौं । सबैले सकारात्मक सोच लिएर नगरको विकास गर्न म आग्रह गर्छु ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १७:१६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।