काठमाडौं । सत्ता गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सकस परेको छ । अधिकांश ठाउँमा सहमति जुटे पनि कतिपय ठाउँमा दोबर र तेबर दाबी परेको छ । आ–आफ्नो अडानबाट कुनै पनि दल पछि नहट्दा सहमति हुन नसकेको हो ।
सोमबार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गरेका दलहरु आज (मंगलबार)देखि प्रत्यक्ष तर्फको सिट भागबण्डामा जुटेका हुन् । मंगलबार दुई पटक सिट बाँडफाँट कार्यदलका सदस्यहरुसँग शीर्ष नेताहरु छलफलमा जुटेपनि सहमति भने जुटेन ।
मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधिसभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका छन् । ‘गाँठो फुक्दै गएको छ । बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अब धेरै दिन लाग्दैन चाँडै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ ।’
मंगलबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बुधबार बिहानैबाट पुन छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिए । उनले पनि यसअघि समस्या भएका धेरै स्थानको गाँठो फुक्दै गएको पनि बताए ।




















प्रतिक्रिया