बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई प्राईस कटिङ नगर्न निर्देशन दिएको छ । बीमा समितिले आज मंगलबार सबै निर्जिवन बीमा कम्पनीहरुलाई पुनः स्मरणपत्र पठाउँदै प्राईस कटिङ (तोकिएको दररेट भन्दा न्यून मूल्यमा बीमा गर्ने कार्य) नगर्न निर्देशन दिएको हो ।
निर्जिवन बीमा कम्पनीहरुले बीमा समितिले तोकेको दर रेटभन्दा न्यून मूल्यमा बीमा कारोबार गर्दै आएका छन् । नाम चलेका कम्पनीहरु नै प्रतिस्पर्धात्मक बजारमा आफ्नो हिस्सा बढि बनाउन प्राईस कटिङ र उधारो बीमा गर्दै आएका छन् ।
बीमा समितिले आज पठाएको निर्देशनमा चेकको आधार बीमा पोलिसी जारी नगर्ने पुनः स्मरण गराउँदै बैंक ग्यारेन्टीको आधारमा समेत बीमा पोलिसी जारी नगर्न निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुलाई पुनः स्मरण मात्रै गराएको बताए ।
नेपालमा एक हजार रुपैयाँ भन्दा बढिको भुक्तानी चेकमार्फत अनिवार्य गरिएको छ । तर, बीमा समितिले रकम प्राप्त भई खातामा रकम जम्मा नभएसम्म बीमा पोलिसी जारी नगर्न कडा निर्देशन दिँदै आएको छ । नेपाल राष्ट्र बैंकले चेकलाई नोट सरह मान्यता दिँदै आएको भएपनि बीमा कम्पनीहरुमा उधारो बीमाको विकृति रोक्ने सकारात्मक उद्देश्यले चेकबाट रकम बीमा कम्पनीको खातामा दाखिला भइसकेपछि मात्रै बीमा पोलिसी जारी गर्न पाइने व्यवस्था गरेको बीमा समितिको भनाई छ ।





















प्रतिक्रिया