Logo

राजनीति

भीम रावललाई टिकट नदिएपछि अछाममा एमालेका ३८ नेताद्वारा सामूहिक राजीनामा



काठमाडौं । अछाममा नेकपा एमालेका ३८ नेताहरुले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले शनिबार एमाले अछामका जिल्ला कमिटी अध्यक्षलाई सम्बोधन गर्दै  राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभा निर्वाचनमा भीम रावललाई अछाम- १ का एकल उम्मेदवार सिफारिस गरिए पनि पार्टी केन्द्रले टिकट वितरण गर्दा बेवास्ता गरिएको भन्दै राजीनामा दिइएको हो । राजीनामा दिनेमा ३० जिल्ला कमिटी सदस्य छन् । त्यस्तै, बाँकी सल्लाहकार छन् ।

‘तल्लो कमिटीद्वारा गरिएको सर्वसम्मत निर्णयको बेवास्ता तथा पार्टी नेता, कार्यकर्ता एवं जनभावनाको विपरीत निर्णय भएकोले घोर भर्त्सना गर्दै हामी तपसिल बमोजिमका व्यक्तिहरु आ-आफ्नो पदीय जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुनेगरी सामूहिक राजीनामा गर्दछौँ’, राजीनामा पत्रमा भनिएको छ ।

एमाले अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीले रावलको नाम एकल सिफारिस गरेको थियो । तर, अध्यक्ष केपी शर्मा ओलीले रावललाई टिकट नदिएर सो क्षेत्रमा झपट बोहोरालाई टिकट दिएका छन् । बोहोरा माओवादीबाट एमाले प्रवेश गरेका नेता हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार १५:४६   :  बजे

984
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।