तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित क्षेत्रमा चमेराको संरक्षणका लागि तीनवटा वैकल्पिक बासस्थान निर्माण सुरु गरेको छ।
आयोजना निर्माणका क्रममा रूख कटान तथा अन्य गतिविधिका कारण चमेराको प्राकृतिक बासस्थानमा असर पर्न सक्ने भन्दै वैकल्पिक आश्रयस्थल निर्माण गर्न लागिएको हो।
आयोजनाका प्रमुख श्यामजी भण्डारीका अनुसार वन्यजन्तु संरक्षण तथा बासस्थान व्यवस्थापन योजनाअन्तर्गत काठबाट निर्माण गरिने चमेराका आवासको डिजाइन तयार गरी काम अघि बढाइएको हो। राष्ट्रिय वन्यजन्तु विशेषज्ञले तयार पारेको डिजाइनअनुसार आयोजना क्षेत्रभित्र तीनवटा आवास निर्माण गरिने उनले जानकारी दिए।
निर्माणका क्रममा प्राकृतिक बासस्थान प्रभावित हुन सक्ने स्थानलाई ध्यानमा राखेर वैकल्पिक आश्रयस्थल तयार गर्न लागिएको भण्डारीले बताए। निर्माण सम्पन्न भएपछि आयोजना क्षेत्रभित्र चमेराका लागि उपयुक्त स्थान पहिचान गरी ती आवास स्थापना गरिने उनको भनाइ छ।
चमेराले प्राकृतिक पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणलाई आयोजनाको वातावरणीय व्यवस्थापन योजनामा समावेश गरिएको छ।
निर्माण गतिविधिबाट प्राकृतिक बासस्थानमा पर्न सक्ने सम्भावित असर न्यूनीकरण गर्दै स्थानीय चमेरा प्रजातिलाई सुरक्षित आश्रय उपलब्ध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ।
तीनवटा वैकल्पिक आवास निर्माणपछि चमेराका लागि सुरक्षित बासस्थान उपलब्ध हुने र आयोजना निर्माणका गतिविधिबाट वन्यजन्तुमा पर्न सक्ने प्रभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको भण्डारीले बताए।
ऋषिङ गाउँपालिका क्षेत्रमा निर्माणाधीन उक्त आयोजनाले १४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। भौतिक संरचना निर्माणसँगै आयोजनाले वातावरणीय तथा सामाजिक व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई पनि अघि बढाउँदै आएको छ।




















प्रतिक्रिया