Logo

राजनीति

एमाले छाडेका कुन नेता कहाँबाट चुनाव लड्दै छन् ?



काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलका व्यक्तिहरुलाई मात्रै टिकट दिएको भन्दै नेकपा एमाले छाडेका नेताहरुले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै एमाले पूर्वउपाध्यक्ष भीम रावल, पूर्व उपमहासचिव घनश्याम भूसालसहित प्रदेश तथा जिल्ला तहमा गरी दर्जनौं नेताहरुले एमाले छाडेको घोषणा गरेका छन् ।

शनिबार साँझ एमाले त्यागेको घोषणा गरेका नेता भूसाल रुपन्देही १ बाट प्रतिनिधिसभा चुनाव लड्ने भएका छन् । रुपन्देही १ र ३ बाट उनको नाम सिफारिस भएको भए पनि एमालेले उनलाई टिकट नदिएपछि उनी सत्ता गठबन्धनको मसर्थनमा रुपन्देही १ बाट उठ्न लागेका हुन् ।

गठबन्धनमा भागबन्डा मिलाउँदा रुपन्देही १ माओवादी केन्द्रका भागमा परेको छ । उक्त क्षेत्रमा माओवादीले एमाले त्यागेका भूसाललाई समर्थन गर्न तयार भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यरातमा फोनमार्फत यस्तो प्रतिबद्धता जनाएको भुसालले बताए ।

उनले चुनाव भने स्वतन्त्र हैसियमा लड्ने छन् । माओवादीको चुनाव चिन्हबाट लड्न प्रस्ताव आएपनि नैतिक प्रश्न उठ्ने भन्दै आफूले अस्वीकार गरेको उनले बताए । आफूले स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा गठबन्धनले समर्थन गर्ने उनले बताए ।

एमाले छाडेका अर्का नेता हरि राना झापा २ बाट उठ्दै छन् । उनलाई नेकपा माओवादी केन्द्रले टिकट दिएको हो । उनी नेकपा एमाले त्यागेर माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन् ।

यो क्षेत्रमा धर्मशिला चापागाईंको दाबी रहँदै आए पनि यसपटक माओवादी केन्द्रले एमाले छाडेर आएका रानालाई उम्मेदवार बनाएको हो । उनी एमालेबाट शनिश्चरे गाविसको दुई पटक अध्यक्ष बनेका थिए । उनी एक पटक अर्जुनधारा नगरपालिकाको प्रमुख पनि भइसकेका हुन् ।

यसैगरी एमालेबाट टिकट नपाएपछि नेता योगेन्द्र मण्डलले मोरङ ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । चुनावी अभियान सञ्चालन गरिरहेका मण्डलले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । जसपासँग गठबन्धन गर्दा नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ५ छाडेको छ ।

एक वर्षयता चुनाव लड्ने तयारीसहित मण्डल क्षेत्र नम्बर ५ मा सक्रिय थिए । तर गठबन्धन गर्दा उनको टिकट खोसिएपछि पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । ‘म स्वतन्त्र उम्मेदवारी दिन्छु,,’ उनले भने,‘ जनताको घरदैलोमा जान्छु ।’

यसैगरी नेकपा एमाले परित्याग गरेका योगेन्द्र शाहीलाई पनि माओवादी केन्द्रले दैलेखमा टिकट दिने भएको छ । शनिबार बेलुका एमाले त्यागेका शाहीलाई माओवादीले दैलेख २ ‘ख’ प्रदेश सभामा चुनाव लडाउने भएको हो । माओवादी केन्द्र कर्णाली प्रदेशका इञ्चार्ज कालिबहादुर मल्लले पनि शाहीलाई नै उम्मेदवार बनाउने बारे छलफल चलिरहेको बताए ।

एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सचिव तथा एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले शानिबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका थिए । उनी घनश्याम भुसाल निकट मानिन्छन् ।

  • याे पनि

रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घनश्यामको घोषणा

प्रकाशित मिति : २३ आश्विन २०७९, आईतवार १२:०३   :  बजे

498
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।