Logo

खेलकुद

दश खेलाडीमा समेटिएको मिलानमाथि चेल्सीको जित



काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ‘ई’ को खेलमा इङ्ग्लिस क्लब चेल्सीले इटालियन क्लब एसी मिलानलाई हराएको छ । सन सिरो स्टेडियममा सम्पन्न खेलमा चेल्सीले घरेलु टोलीमाथि २-० गोलको जित निकालेको हो ।

खेलको १८ औं मिनेटमै एसी मिलानका डिफेन्डर फिकायो टोमरीले म्यासन माउन्टमाथि फउल गर्दै रेडकार्ड ब्यहोरेपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो । लगत्तै पाएको पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै जोर्गिन्होले चेल्सीलाई अग्रता दिलाए। त्यस्तै ३४ औं मिनेटमा पिअरे एम्रिक औबुमेयाङले गोल गर्दा चेल्सी २-० ले अघि रह्यो ।

त्यस्तै समूह ‘ई’ कै अर्को खेलमा क्रोएसियन क्लब डाइनामो जाग्रेब र अस्ट्रियन क्लब आरबी साल्जबर्ग १-१ गोलको बराबरीमा रोकिए । खेलको १२ औं मिनेटमा निकोलस सेइवाल्डले साल्जवर्गलाई अग्रता दिलाएका थिए । तर, जाग्रेबका रोबर्ट जुबिसिचले ४० औं मिनेटमा गोल फर्काउँदा खेल १-१ गोलको बराबरीमा रोकियो ।

यो सँगै समूह ‘ई’ मा ४ खेलबाट ७ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने समान खेलबाट ६ अंक जोडेको साल्जबर्ग दोस्रो र समान ४ अंक जोडेका मिलान र जाग्रेब क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार ०६:४५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।