काठमाडौं । नेपाली कांग्रेस युवा नेता प्रदीप पौडेलले अर्को चुनावमा भोट माग्नै नपर्ने गरी यस पटक जितेर काम गर्ने बताएका छन् । काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार पाैडेलले यस पटक जितेर गरेकै काम देखेर अर्को पटक जनता आफैले कांग्रेसलाई खाेजी खाेजी भोट हाल्ने बताए ।
काठमाडौं–५ ‘क’ ले शुक्रबार बिहान आयोजना गरेको कार्यक्रममा कांग्रेस युवा नेता पौडेलले भने, ‘चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन् । हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं– हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भोट मागिरहनु पर्दैन। हामीलाई खोजीखोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छाैँ ।’
नेपालको राजनीतिक संस्कृति विकास गर्ने पार्टी कांग्रेस भएको भन्दै उनले समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व पनि कांग्रेसले नै गरेका बताए । राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा समाजमा स्थापित गर्न सक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘आजको दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जाने, परिवर्तनको बाटोतिर लिएर जाने सन्दर्भमा हामी अलि बढी अलमलिएको स्थिति छ। हाम्रो लोकतान्त्रिक निष्ठामाथि कसैले प्रश्न गर्दैन, त्यसमा दुविधा भएन । तर, राजनीति निष्ठाका लागि हो, राजनीति इमानका लागि हो । राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा हामीले समाजमा स्थापित गर्न सक्नुपर्छ।’




















प्रतिक्रिया