धनुषा । सत्ता गठबन्धनबाट बाहिरिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि जनता समाजवादी पार्टीका चार मन्त्रीहरुले राजीनामा दिने अपेक्षा प्रधानमन्त्री शेरबहादुर देउवाले गरे । तर जसपाका मन्त्रीहरुले राजीनामा नदिएपछि उनीहरुलाई केन्द्र सरकारबाट हटाइयो ।
केन्द्रको समिकरण फेरिएपछि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा पनि नेपाली कांग्रेस, माओवादी र नेकपा एसका मन्त्रीहरुले राजीनामा दिने अपेक्षा गरे । तर, कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका मन्त्रीहरु आफै राजीनामा दिने छाँटकाँट देखाएका छैनन् ।
राजीनामा नदिएपछि मुख्यमन्त्री .राउतले देउवाकै सिको गर्दै कांग्रेसका मन्त्रीहरु हटाउने तयारी गरेका छन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेको र राजीनामा नदिए आजै उनीहरुलाई पदमुक्त गर्ने तयारी गरिएको बताइएको छ ।
बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनरविचार गरी कांग्रेसका मान्त्र मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।




















प्रतिक्रिया