काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार विजयकुमार गच्छदार र प्रभु साहसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गरिएको रिट खारेज गरेको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले अधिवक्ता अनिल आचार्यले दायर गरेका रिट निवेदन खारेज गरेको हो ।
रिट निवेदनमा सुनसरी ३ मा कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छदार, मनाङबाट कांग्रेस उम्मेदवार रहेका टेकबहादुर गुरुङ, तनहुँ १ बाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र रौतहट क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहलगायतको उम्मेदवारी खारेज गर्न माग गरिएको थियो ।
यस्तै चितवन क्षेत्र नं २ का राप्रपाका उम्मेदवार विक्रम पाण्डे, सिरहा १ की स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक १ (क) का एमाले उम्मेदवार डिबी तामाङ, महोत्तरी १ का एमाले उम्मेदवार लक्ष्मी महतो र झापा ५ (ख) का माओवादी उम्मेदवार रेवतराज पुरीको उम्मेदवारी पनि खारेज गर्न माग गरिएको थियो ।
रिटमा गच्छादारको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको, रेशम चौधरी र लक्ष्मण थारुको कर्तव्य ज्यानमा दोषी ठहर भएको, प्रभु साह र सरिता गिरि विवादित व्यक्ति भएको, विक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा विशेषबाट सफाइ पाएको र डीबी लामा पनि फरार आरोपित भएको दाबी गरिएको थियो ।
रेशम र लक्ष्मणको हकमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले यसअघि नै उम्मेदवारी खारेज गरिसकेका थिए ।




















प्रतिक्रिया