Logo

राजनीति

कात्तिक १८ गतेभन्दा अघि कोणसभा र आमसभा नगर्न आयोगको चेतावनी

घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने



काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक १८ गतेभन्दा अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने बताएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखी मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ गतेदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताए । यदि कात्तिक १८ गतेभन्दा अगाडि कोणसभा र आमसभा गरेर चुनावको आचारसंहिता उल्लङ्घन गरेको पाइएमा उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने उनले चेतावनी दिएका छन् । निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राजनीतिक दलहरूको समर्थनमा राखिएको पनि आयुक्त भण्डारीकाे भनाइ छ ।  

यस्तै आयुक्त भण्डारीले अहिले घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा जान सकिने बताए । तर घरदैलोमा जाँदा पनि बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने उनले बताए । अहिले घरदैलाेको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी आइरहेको पनि उनले बताए । 

उनले भने, ‘थुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर जानुभयो भन्ने उजुरी आएका छन् । भोजभतेर गर्न पनि सुरु भएको छ भन्ने उजुरी परेका छन् । उजुरीको छानबिन गरिरहेका छौँ । चुनाव प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन भएमा आयोगले कठोर कारबाही गर्छ ।’

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १५:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।