Logo

राजनीति

रौतहट–१ : छैनन् माधव नेपालका बलिया प्रतिस्पर्धी



काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गृह निर्वाचन क्षेत्र रौतहट–१ उम्मेदवार बनेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका उनी अहिले चुनावी माहोल सिर्जना गर्न रौतहट केन्द्रित छन् । अहिले नेपालले रोजेका रौटहट–१ मा ०७४ को निर्वाचनमा भने तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का नेता अनिल झा विजयी भएका थिए ।

पछि राजपा र डा.बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण भएपछि जनता समाजवादी पार्टी(जसपा) बन्यो । अन्ततः जसपाबाट महन्थ ठाकुर समूह अलग्गियो । र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बन्यो । अन्तिममा लोसपा पाँच गठबन्धनमा सामेल भएपछि झालाई धनुषा ३ को टिकट थमाएर रौतहट–१ नेपालका लागि सुनिश्चित गरिएको हो ।

०५६ को चुनाव र दोस्रो संविधानसभा ०७० मा पनि नेपाल यही क्षेत्रबाट विजयी भएका थिए । ०६४ मा भने उनले पराजय व्यहोरेका थिए । २०७४ मा काठमाडौं– २ बाट निर्वाचित भएका नेपाल यस पटक गृह क्षेत्रतर्फ सोझिएका हुन् । नेपाल त्यसबेला ११ हजार मतान्तरले विजयी भएका थिए । उनले २५ हजार ६३३ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार २०७ मत प्राप्त गरेका थिए । ०७४ मा वाम गठबन्धनका तर्फबाट नेपाल उम्मेदवार बनेका थिए ।

छैनन् माधव नेपालका बलिया प्रतिस्पर्धी

रौतहट–१ मा गौर नगरपालिका, राजदेवी नगरपालिका, माधवनारायण नगरपालिका, दुर्गा भगवती गाउँपालिका, यमुनामाई गाउँपालिका, गढीमाई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा र गरुडा नगरपालिकाको वडा नम्बर १ पर्छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा नेपालको दल एकीकृत समाजवादीका वडा अध्यक्षहरुले १९ हजार ९४४ मत पाएका थिए । यही मतका आधारमा यस क्षेत्रमा नेपालको दल पहिलो भयो ।

१६ हजार ९४४ मतसहित कांग्रेस दोस्रो हुँदा १२ हजार ६२ मतसहित लोसपा तेस्रो दल बन्यो भने गठबन्धनमै रहेको माओवादी केन्द्र ८ हजार १९१ मतसहित माओवादी केन्द्र पाँचौँ स्थानमा छ । अहिले एमालेसँग चुनावी तालमेल गरेको जसपा ८ हजार २४१ मतसहित चौथो, ७ हजार ३८५ मतसहित एमाले छैठौँ दल भयो । स्वतन्त्रसहित अन्य दलले ३ हजार १४३ मत पाएका थिए ।

स्थानीय चुनावको यही परिणामलाई आधार मान्दा एक्लाएक्लै लड्दा पनि नेपालले रौतहट–१ मा चुनाव जित्ने देखिन्छ । अझ स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो र पाँचौं भएका दलहरु एक हुँदा नेपालका कुनै पनि बलिया प्रतिस्पर्धी नै देखिँदैनन् । रौतहट–१ मा ९ स्वतन्त्रसहित १७ उम्मेदवार चुनावी मैदानमा छन् । जसपासहितको समर्थनमा यो निर्वाचन क्षेत्रमा एमालेले अजयकुमार गुप्तालाई उम्मेदवार बनाएको छ । तर आफ्नो क्षेत्रमा स्वयं बलियो देखिएका नेपालसँग कडा प्रतिस्पर्धा गर्ने उम्मेदवार भने कोही देखिँदैनन् ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १५:३२   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।