Logo

राजनीति

सबै गर्न सक्ने अवस्थामा एमालेले सिन्को भाँचेन, अब कांग्रेसले जित्नैपर्छ : अर्जुन जोशी



काठमाडौं । नेपाली कांग्रेसका पर्वत प्रतिनिधिसभा उम्मेदवार अर्जुन जोशीले बकम्फुसे गफ मात्रै दिएर जनतामा भ्रम छर्ने एमाले अध्यक्ष केपी ओली प्रवृतिविरुद्ध सबैजना एक हुन आवश्यक भएको बताएका छन् । निर्वाचनको दौरान चुनावी घरदैलोमा निस्किएका नेता जोशीले दक्षिण पर्वतको विहादी गाउँपालिकामा कार्यकर्ताहरूमाझ कुरा राख्दै संविधान विरोधी शक्तिलाई परास्त गर्न टोल–टोलमा सन्देश बाँड्दै चुनावी अभियानमा होमिन अपिल गरे ।

‘पर्वतको भौगोलिकतामा अहिलेको आवश्यकता रेल, पानीजहाज होइन । घर गाउँमा खानेपानी, स्वास्थ र स्थानीय पूर्वाधार हो, जनतालाई सिधा प्रभाव पार्ने, जनस्तरका विधमान समस्याको पहिचान गरेर त्यसको समाधान गर्न कांग्रेस तयार छ’, जोशीले भने ।

स्याङ्जाको वालिङबाट रानीपानी बर्राचौर जोड्ने सडकलाई एमालेले आफ्नो कारण बनेको भनेर भ्रामक प्रचार गरेको भन्दै जोशीले कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा साबिक पर्वत २ बाट निर्वाचित सांसद उमा अधिकारीको पालामा निर्णय भएपछि दक्षिण पर्वतलाई मोटरबाटोसँग जोड्ने काम भएको बताए ।

दुई तिहाइको सरकार हुँदा एमालेले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन बाहेक सबै गर्न सक्ने अवस्थामा समेत सिन्को नभाँचेकोले २०७४ को निर्वाचनमा कांग्रेस पराजित हुनु दुर्भाग्य भन्दै जनताबाट अब उक्त गल्ती नदोहोरिने विश्वास व्यक्त गरे ।

त्यस्तै प्रदेशसभा अन्तर्गत पर्वत २ का उम्मेदवार ऋषिकेश तिवारीले २०४६ सालमा पञ्चायतविरुद्ध एकजुट भएजस्तै अहिलेको गठबन्धन समयको माग भएको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार १७:५९   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।