काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुुलुकका लागि अपरिहार्य भएकोले पाँच दलीय गठबन्धन बनेको बताएका छन् । लहडले गठबन्धन नबनेको भन्दै उनले यो हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् ।
सोमबार पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताउँदै त्यसका लागि नै गठबन्धन बनेको बताए । ‘यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन’, उनले भने, ‘गठबन्धन अपरिहार्य थियो ।’
मुलुकमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशी, समानुपातिक व्यवस्था रहेको संविधान हटाउन नसक्ने गरी गठबन्धन अगाडि बढ्ने देउवाको प्रतिबद्धता थियो । पाँच दलीय गठबन्धनमा रहेका दलहरूभित्रका नेताहरूमा समस्या रहेको देउवाको भनाइ थियो । उनले नेताहरूले गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भएपनि अब मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।




















प्रतिक्रिया