Logo

प्रमुख समाचार

ओलीको दाबी : एमालेले बहुमत ल्याउँछ, राप्रपा र जसपालाई समेटेर सरकार बनाउँछ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्दै त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीलाई साथमा लिएर सरकार बनाउने दाबी गरेका छन् । गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा राप्रपासँग संयुक्त भेलालाई सम्बोधन गर्दै ओलीले एमालेका साथमा रहेकाहरु सबै राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने ठोकुवा गरेका हुन् ।

उनले भने, ‘यसपालि राप्रपा एमालेको साथमा दह्रोसँग लागेको छ । त्यसैले राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन । एमालेको साथमा राप्रपा लागिसक्यो, लागेपछि राष्ट्रिय पार्टी भइयो ।’ ओलीले एमालेसँग तालमेल गरेको अर्को पार्टी जसपा पनि राष्ट्रिय पार्टीको रुपमा कायम रहने भविष्यवाणी गरे । माधव नेपालको पार्टीको भने कुनै सम्भावना नरहेको उनले बताए ।

ओलीले थपे, ‘कांग्रेस राष्ट्रिय पार्टी रहने भो अलि दिन । यसपालिको हकमा माओवादी पनि राष्ट्रिय पार्टी रहन्छ । राप्रपाभन्दा अलिकति बढी सीट माओवादीले ल्याउने सम्भावना छ । तर, माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुने भयो । त्यो राष्ट्रिय पार्टी सार्टी केही हुँदैन । कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस् ।’

ओलीले लोसपाले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गरे । उनले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए । ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत आयो आयो । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरु सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । ’

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार १७:११   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।