काठमाडौं । निर्वाचन आयोगले कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, अभिव्यक्ति स्वतन्त्रताभित्र नपर्ने बताएको छ । शुक्रबार आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालीग्राम पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता हनन् नभएको स्पष्ट पारेका हुन् ।
यसअघि कात्तिक ८ गते आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका झुटा फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको थियो । ‘नो नट अगेन’ लगायतका केही फेसबुक पेजबाट नेताहरूलाई लाञ्छना लगाइएको भन्दै त्यस किसिमका गतिविधि नगर्न आयोगले निर्देशन दिएको थियो ।
शुक्रबार जारी आयोगको विज्ञप्तिमा भनिएको छ, ‘संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ ।’
संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको हकको निर्वाचनका समयमा भरपूर उपयोग होस् भन्ने हेतुले निर्वाचनको व्यवस्थापन र सञ्चालनका लागि ‘सामाजिक सञ्जालको प्रयोग सम्बन्धी नीति, २०७७’ कार्यान्वयनमा ल्याएको आयोगले जनाएको छ ।
विज्ञप्तिको पूर्ण पाठ हेर्नुहोस्






















प्रतिक्रिया