काठमडौं । भिक्टोर ओसिमेनले इटालियन सिरी ‘ए’मा पहिलो ह्याट्रिक गरेको दिन नेपोलीले शनिबार राति सासउलोमाथि ४–० को सहज जित हासिल गरेको छ । यससँगै नेपोलीले शीर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ ।
नाइजेरियाका २३ वर्षे फरवार्ड ओसिमेनले चौथो मिनेटमा गरेको गोलबाट नेपालीले अग्रता लिएको थियो । १९ औँ मिनेटमा ओसिमेनले अग्रता दोब्बर बनाए । ३६ औँ मिनेटमा खिचा कारात्सेलियाले तेस्रो गोल थपे । ओसिमेनले दुवै गोल कारात्सेलियाको पासमा गरेका थिए । दुई जनाले सबैखाले प्रतियोगितामा एकअर्कासँग मिलेर १६ गोल गरेका छन् ।
ओसिमेनले ७७ औँ मिनेटमा ह्याट्रिक गरेका हुन् । तिघ्राको चोटका कारण एक महिना मैदान बाहिर रहेका ओसिमेनले पछिल्लो चार खेलमा ६ गोल गरिसकेका छन् । जारी सिजन उनले लिगमा सात गोल गरिसकेका छन् । यससँगै लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । बोलोग्नाका मार्को अर्नाटोभिकले पनि सात गोल गरेका छन् । नेपोलीकै कारात्सेलियाले ६ गोल गरेका छन् ।
जितसँगै नेपोलीले लिगमा अपराजित यात्रालाई १२ खेलसम्म कायम राखेको छ । साथै क्लबले सबैखाले प्रतियोगितामा गरी विजयी यात्रालाई कीर्तिमानी १३ खेलसम्म लम्बाउन सफल भएको छ । यसअघि, म्यारोडोना हुँदा १९८६ मा नेपोलीले ११ खेलसम्म विजयी यात्रा कायम राखेको थियो ।
लिगमा नेपोलीले १२ खेलबाट ३२ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानले ११ खेलबाट २६ अंक जोडको छ । पराजित सासउलो १५ अंकका साथ नवौँ स्थानमा छ ।
३२ वर्षपछि उपाधि उचाल्ने अभियानमा रहेको नेपोलीले खेलअघि क्लबका महान खेलाडी डिएगो म्यारोडोनालाई सम्मान व्यक्त गरेको थियो । साथै, रंगशालामा बनाइएको म्यारोडोनाको शालिकको अनावरण गरिएको थियो । अर्जेन्टिनाका फरवार्ड म्यारोडोनाले नेपोलीबाट दुई लिग उपाधि उचालेका थिए । म्यारोडोनोको २५ नोभेम्बर २०२० मा निधन भएको थियो ।




















प्रतिक्रिया