Logo

प्रमुख समाचार

जनताले उचित मूल्याङ्कन गर्नेछन् : नेता सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् ।

नेपाली कांग्रेसका तर्फबाट काठमाण्डाैं क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन् ।

‘चुनावका क्रममा सबै उम्मेदवार घरदैलोमा आउनु स्वाभाविक हो, तर कस्तो जनप्रतिनिधि चुन्ने भन्ने विषय जनताको हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन्’, उनले भने ।

नेता सिंहले कांग्रेस राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न कांग्रेसलाई विजय गराउन आवश्यक रहेको पनि बताए । उनले मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना र यसको स्थायित्वका लागि नेपाली कांग्रेसले इतिहासदेखि गरेका कामको मूल्याङ्कन जनताले गरिरहेको पनि बताए ।

पूर्वउपप्रधानमन्त्री सिंहले आफ्नो ध्यान संसद्मा कानून बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमासमेत भएको स्पष्ट पारे । काठमाण्डौं क्षेत्र नं १ मा भौतिक पूर्वाधारका क्षेत्रमा आफूले यसअघि सांसद भएर धेरै काम गरेको पनि उनले स्मरण गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आईतवार १४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।