नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनमोर्चा पार्टीकी पूर्वसांसद दुर्गा पौडेललाई ‘कान्छी भाउजू’ भन्दै कटाक्ष गरेका छन् । काठमाडौं १ मा आज आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘यहाँ अनेकप्रकारका च्याँखे थाप्नेहरू छन् । संसदमा एउटा सीट छ, एमालेको सरकार ढालेँ भने बुरुक्क-बुरुक्क उफ्रेका छन् । एउटा मोहनविक्रमजीको पार्टी छ, हामीले भोट खसाइदिएर कान्छी भाउजूलाई ल्याइदियौं । भरे त हाम्रै टाउकामा भष्मासुर भएर उफ्रिइन् ।
हामीले भोट खसाएर ल्यायौं, संसदमा आइपुगेपछि कान्छी भाउजू त अर्कैतिर । यस्ता च्याँखेहरूले गम्भीर अपराध गर्ने स्थिति अन्त्य गर्न कुनै पार्टीको सुदृढ राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नैपर्छ । होइन भने च्याँखेहरूले सधैँ खेलिरहन्छन् ।’
उनले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने पनि उनले बताए । ‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नुपर्छ,’ ओलीले भने ।
ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ छ ।
ओलीले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’
‘प्रतिगामीहरू हामीलाई नै प्रतिगामी भन्दै छन्, उनीहरूलाई लाज छैन,’ ओलीले भने, ‘अहिलेको सरकार प्रतिगमनको फल हो, असंवैधानिक र असंसदीय हो ।’




















प्रतिक्रिया