जनकपुरधाम । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराले मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ र निष्पक्षरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरिएको बताएका छन् । राष्ट्रिय समाचार समितिको समन्वयमा निर्वाचन आयोगद्वारा आज जनकपुरधाममा आयोजित प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा विगतको भन्दा थप कडाइ गरिएको बताए ।
“स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न आयोग दृढतापुर्वक अघि बढेको छ”, आयुक्त जबराले भने, “यसका लागि सबै पक्षले इमान्दारीपूर्वक निर्वाचन आचारसंहिताको परिपालना गर्नु जरुरी छ ।” निर्वाचन आचारसंहिता परिपालना गराउन केन्द्रदेखि जिल्ला तहसम्म बनेका निर्वाचन आचारसंहिता अनुगमन समितिले काम गरिरहेको उनले जानकारी दिए । “निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नलाई स्पष्टीकरण मात्र होइन, अब आयोग कार्वाही गर्न थालेको छ,” आयुक्त जबराले भने, “आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण मात्र होइन, तत्काल अनुसन्धान गरेर कानूनी दायरामा समेत ल्याउने काम सुरु भइसकेको छ ।”
आचारसंहिता उल्लङ्घन भएको उजुरी आए तत्काल आयोग आवश्यक कारवाही अघि बढाउन तयार रहेको उनले बताए । निर्वाचनप्रति जनताको उत्साह बढाउन, मतदातालाई सचेत बनाउने कार्यमा सञ्चारकर्मी र सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै उनले बाहिरी हल्लाको भरमा सूचना प्रवाह गर्दा ठूलो क्षति हुन सक्ने कुरालाई ख्याल गरी सूचना पुष्टि गरेर मात्र सम्प्रेषण गर्न आग्रह गरे । कार्यक्रममा धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने वातारण बनाउन मिडियाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै निर्वाचन आचारसंहितालाई परिपालना गराउन सञ्चारमाध्यम र सञ्चारकर्मीले पहलकदमी लिनुपर्ने बताए ।




















प्रतिक्रिया