Logo

प्रमुख समाचार

एमाले उम्मेदवार काेमल वलीलाई साेधियाे २४ घण्टे स्पष्टीकरण



काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका दाङ क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन प्रचारप्रसारका क्रम्मा बालबालिकाको प्रयोग गरेको विषयमा उनलाई स्पष्टीकरण साेधिएकाे हाे ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचरण अन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

‘तपाईंले निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) को प्रतिकूल हुनेगरी निर्वाचन प्रचारप्रसार गर्नु भएको होइन भन्ने आधार, प्रमाण के छ ? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो ?’ आयोगको स्पष्टीकरणमा भनिएको छ ।

आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु हुँदैन भन्ने जानकारी हुँदाहुँदै सो कार्य गरेको देखिएकोले आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ? भनी पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पठाउन उम्मेदवार वलीलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार १८:५१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।