काठमाडौं । तीनकुनेमा बन्ने भनिएको पार्क र उक्त पार्कसँग जोडिएको जग्गाको मुआव्जा वितरण एवम् निर्माणाधीन पार्कलाई लिएर राप्रपा काठमाडौं क्षेत्र नं २ की उम्मेदवार कुन्ती पोख्रेलले राजनीतिक दलका नेता तथा यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बारेमा कडा टिप्पणी गरेकी छन् । उनले यो क्षेत्रबाट प्रतिनिधित्व गरेका सांसदहरुले आफ्नो कार्यकालमा के हेरेर बसे भन्दै प्रश्न तेस्र्याएकी छिन् ।
कोटेश्वर महादेव मन्दिरको सन्ध्याकालीन आरतीमा सरिक हुने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो प्रश्न गरेकी हुन् । उनले तीनकुनेको पार्क निर्माणको अन्योलता, मुआब्जा वितरणमा भएको ४८ बर्ष लामो ढिलाई तथा राज्यलाई त्यो पार्कमा हुने आकस्मिक र अर्थहीन लगानीले थोपरेको आर्थिक भारको बारेमा प्रश्न उठाएकी थिइन् । ‘सर्वसाधरणको मुुआब्जा विवाद कहिले समाधान हुन्छ ?’, उनले प्रश्न गरिन्, ‘त्यहाँ कहिले पार्क बन्छ ? सर्वसाधारणको जग्गाओगटेर राखिएको छ, किन उनीहरुको समस्या समाधान गरिँदैन ? राजधानीको मुटुमा रहेको तीनकुनेको हरियाली आकर्षक गार्डेन हुनुपर्नेमा आज त्यो जग्गा झाडीमा परिवर्तन भएको छ ।’
उनले त्यो जग्गाको कारणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै बेइज्जतीको सामना गर्नुपरेको बताउदै विश्वका विभिन्न देशहरुबाट उच्चपदस्त व्यक्तिहरु आउँदा करोडौ रुपैयाँखर्च गरेर जस्तापाताले लाज छोप्ने गरिएको बताइन् । पटक पटक लाज छोप्न जस्तापाता लगाउँदा करौडौ रुपैयाँ खर्च हुने गरेको भन्दै त्यसरी लाज छोपेको बजेट धेरै पटक खेर गएर राष्ट्रलाई अतिरिक्त आर्थिक भार थप्ने गरिएकोप्रति उनको आक्रोश थियो ।
‘यो क्षेत्रमा चुनाव जितेका सांसदहरु कहाँ गए ?’, उनले प्रश्न गरिन्, ‘यो क्षेत्रमा चुनाव लड्ने माधवकुमार नेपाल, झक्कुप्रसाद सुवेदीहरुले के गरे ? पूर्व प्रधानमन्त्रीसमेत भइसकेका माधव नेपालकोे कोटेश्वरमा घर छ । उनी संसद् भवन धाउँदा यही तीनकुनेको बिजोग टुलुटुलु हेर्दै हिँडे । तर रोइरहेको तीनकुनेको समस्या समाधान गर्ने विषयमा ध्यान गएन ।’




















प्रतिक्रिया