काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई मंसिर ४ मा हुने प्रतिनिधि सभाको उम्मेदवार हुन रोक्न आदेश माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ । कात्तिक २० मा पेश भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ ।
अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चलेको द्धन्द्धमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ ।
सर्वोच्च प्रशासनले भने निर्वाचनको नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ।
सर्वोच्चका प्रवक्ता विमल पौडेलले प्रचण्डलाई उम्मेदवार हुन रोक लगाउने खालको रिट आएको र सो अध्ययनका क्रममा रहेको बताए। अध्ययनपछि दर्ता वा दरपिठ के गर्ने निर्णय हुने उनले बताए ।
रिट हाल्ने आरण द्धन्द्धपीडित हुन् । ओखलढुङ्गाका आरणले द्धन्द्धकालमा आफ्ना पिता गुमाएका थिए । द्धन्द्धकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले द्धन्द्धको समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन् ।




















प्रतिक्रिया