काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले चुनावी प्रचार प्रसार गरिरहेका छन् । य पटकको निर्वाचनमा मुख्य गरी वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
झापा क्षेत्र नम्बर १ मा वाम–लाकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमालेबाट पूर्व–महान्याधिवक्ता अग्निप्रसाद खरेलबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । शर्मा गठबन्धन दलहरु कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पाटी र जनमोर्चाका साझा उम्मेदवार हुन् भने खरेल एमाले र राप्रपाका उम्मेदवार हुन् ।
२०७४ को चुनावमा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता राम कार्कीले शर्मालाई हराएका थिए । कार्की यसपटक उनै शर्माको चुनावी सारथी बनेका छन् । कांग्रेसका मात्रै नभएर शर्मा मुलुककै बौद्धिक नेताका रुपमा चिनिन्छ । उनी जनताले रुचाएका र नाम चलेका केही नेताहरुमध्यका एक हुन् । उनी कार्यकर्तामाझ लोकप्रिय छन् । अघिल्ला निर्वाचनहरुमा हार ब्यहोरेका उनी यस पटक आफ्नो लोकप्रियतालाई मतमा रूपान्तरण गरेर झापा–१ बाट जित हासिल गर्ने संकल्पमा छन् ।
आकर्षक भाषणकला भएका उनी पार्टीको पछिल्लो १४ औं महाधिवेशनमा कुनै शक्तिशाली प्यानलमा नपरे पनि दोस्रो धेरै मत ल्याएर महामन्त्री चुनिए । जसबाट उनी पार्टीभित्र पनि लोकप्रिय छन् भन्ने कुरा प्रमाणित गरिदियो । पार्टीको आन्तरिक निर्वाचनमा निरन्तर सफल हुँदै आएका शर्मा संसदीय निर्वाचनमा भने असफल हुँदै आएका छन् । २०७० र २०७४ को चुनावमा झापा–१ मा पराजित बनेका उनी तेस्रो पटक पुरानै क्षेत्रमा चुनावी मैदानमा होमिएका छन् ।
उनका प्रतिस्पर्धीका रुपमा एमालेले अघि सारेको पूर्वकानुन मन्त्री एवं पूर्वमहान्यायाधिवक्ता खरेल खरेल यो क्षेत्रका लागि पाहुना उम्मेदवार हुन् । दुई पटक संविधान सभामा बसेर संविधान लेखनमा भूमिका खेलेको अनुभव उनीसँग छ । एमाले अध्यक्ष केपी ओली निकट भएकाले पनि उनले टिकट पाएको र जित्ने भरोसामा उनलाई त्यहाँ उठाएको पाइएको छ । ओलीले उनलाई दुई पटक संविधान सभामा लानुको साथै आफू प्रधानमन्त्री हुँदा कानुन मन्त्री र महान्यायाधिवक्ता पनि बनाएका थिए ।
पहिलो संविधान सभामा राष्ट्रपतिबाट मनोनित भएका र दोस्रोमा समानुपातिकमार्फत् संविधान सभा प्रवेश गरेका खरेल पहिलो पटक प्रत्यक्ष चुनावी मैदानमा होमिएका छन् । खरेलको इच्छा भने झापा—२ बाट निर्वाचन लड्ने थियो । तर उनलाई पार्टीले झापा–१ को उम्मेदवार बनाएको हो । खरेल झापा–१ जाँदा अर्का एमाले नेता रवीन कोइराला भने विस्थापनमा परेका छन् । एमालेको स्थानीय कमिटीले प्रतिनिधिसभाका लागि कोइरालाको नाम एकल रूपमा सिफारिस गरेको थियो । तर, अध्यक्ष ओलीका विश्वासपात्र खरेल प्रतिनिधिसभामा उम्मेदवार बन्दा कोइराला प्रदेशसभाको उम्मेदवार बन्न बाध्य भए । यसले खरेललाई थप चुनौती थपिन सक्ने कतिपयको आंकलन छ । २०५६ र २०६४ को चुनावबाहेक यो क्षेत्रमा सधैं एमाले उम्मेदवार नै विजेता बन्दै आएका थिए । तर यस पटक शर्मालाई तीन कम्युनिस्ट पार्टीको समर्थन भएकोले खरेलले निर्वाचन हार्ने सम्भावना बढेको औंल्याइएको छ ।
पाहुना र स्थानीय उम्मेदवारबीचको भिडन्त
संसदीय निर्वाचनमा उम्मेदवार बन्न स्थानीय अथवा सोही क्षेत्रको मतदाता हुनुपर्ने कानुनी बाध्यता छैन । गठबन्धनका कार्यकर्ताहरूले एमाले उम्मेदवार खरेल स्थानीय नभएको बताउँदैं पाहुना उम्मेदवारलाई जिताउन नहुने धारणा सामाजिक सञ्जालमा प्रकट गरिरहेका छन् । पाहुना उम्मेदवारले स्थानीय समस्याको समाधान नगर्ने उनीहरुको तर्क छ । बलियो संगठन भएको दलले नै पाहुना उम्मेदवार उठाएकोमा स्थानीय एमालेसँग रुष्ट छन् ।
ताप्लेजुङमा जन्मेर झापाको गौरादहमा हुर्केका र लामो समय काठमाडौं बसेर वकालतसँगै राजनीति गर्दै आएका खरेललाई एमालेले उम्मेदवार बनाएर पठाएको छ । उनले झापा–२ स्थित बिर्तामोडमा घर किनेका छन् । आफ्नो घर क्षेत्र नम्बर २ मा पर्ने हुनाले पनि त्यो क्षेत्रबाट उम्मेदवार बन्न चाहेका खरेललाई पार्टीले क्षेत्र नम्बर १ मा उम्मेदवार बनाएपछि बाध्यताले आएको हुनाले जनमत गुम्ने अनुमान गठबन्धनले गरेको छ । कांग्रेस उम्मेदवार शर्मा भने धुलाबारीका बासिन्दा हुन् । विद्यार्थी राजनीतिका क्रममा लामो समय काठमाडौंमै रहे पनि पार्टीको झापा सभापति लडेयता भने उनी झापाको राजनीति र विकास निर्माणका गतिविधिहरुमा सक्रिय हुँदै आएका छन् । आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएकै कारण आफूले ठुलो मतान्तरले जित्ने शर्मामा विश्वास छ ।
२०७४ को चुनावमा राम कार्कीले ३६ हजार १७३ मत पाएर विजयको झन्डा फहराउँदा शर्माले ३३ हजार ३१० मत पाएका थिए । जनप्रतिनिधि नहुँदै पनि उनले यो क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको र त्यसबारे जनता जानकार रहेको कांग्रेसीको दाबी छ । ‘जतिपटक हारे पनि क्षेत्र नछोड्ने’ शर्माको छविप्रति मतदाता सकारात्मक बन्ने अपेक्षा कांग्रेसको छ ।
यस्तो छ अंक गणित
झापा क्षेत्र नम्बर १ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरका ९ र १० नम्बर अनि बुद्धशान्ति गाउँपालिकाका चार वटा वडाहरू ४, ५, ६ र ७ नम्बर वडा पर्छन् । यो क्षेत्रमा १ लाख २० हजार ३७५ मतदाता छन् ।
गत स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमाले बलियो छ । एमालेका वडाध्यक्षहरुले ३१ हजार २ सय ३२ मत पाउँदा कांग्रेसका वडाध्यक्षहरुले २४ हजार ५९, माओवादी केन्द्रले ३ हजार ९०५, एकीकृत समाजवादीसँग १ हजार २५२ र लोसपाको २६२ मत छ ।
झापा–१ म तेस्रो शक्तिका रुपमा रहेको राप्रपासँग ५ हजार ९२२ मत छ । जसअनुसार एमाले–राप्रपासँग ३७ हजार १५४, र सत्ता गठबन्धनसँग २९ हजार ४७८ मत मात्र छ । यो अंक गणितलाई आधार मान्दा खरेलविरुद्ध जित निकाल्न शर्मालाई सहज भने छैन । यद्यपि युवा नेता शर्मालाई व्यक्तिगत लोकप्रिय मत आउने अपेक्षा गरिएको छ । साथै यो निर्वाचन क्षेत्रमा राप्रपामा मतैक्यता छैन । एमालेसँग भागबण्डा मिलाउँदा प्रदेशसभा क्षेत्र नम्बर २ पाएको राप्रपाबाट सविना बजगाईं उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिएका छन् । राप्रपाको मत विभाजन हुँदा गठबन्धनका शर्मालाई केही सहज हुन सक्छ ।




















प्रतिक्रिया