काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चटारो राजनीतिक दल, उम्मेदवार तथा मतदाता सबैलाई छ । उम्मेदवारी दर्तासँगै चुनावी प्रचारप्रसारमा दलीय तथा स्वतन्त्र उम्मेदवारहरु व्यस्त छन् । चुनाव जितेपछि बिरलै जनताको घरदैलोमा पुग्ने नेताहरुलाई यत्तिबेला आफूलो टिकट पाएको निर्वाचन क्षेत्र विभिन्न कार्यक्रम आयोजना गरेर तथा जनताको घर–घरमा पुगेर भोट माग्न भ्याइनभ्याइ छ । उनीहरुले घर–घरमा पुगेर विभिन्न सपना मात्र बाँड्दैनन्, सार्वजनिक रुपमा आफ्ना प्रतिस्पर्धीको खेदो पनि खन्छन् ।
आफू गतिलो छु भन्न अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या गर्न समेत नेता तथा उम्मेदवारहरु अग्रसर देखिएपछि निर्वाचन आयोगले समेत खबरदारी गर्दै आएको छ । कार्तिक २० गते आइतबार चुनावकै सन्दर्भमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘१५ मिनेट आफू गतिलो छु भन्न १३ मिनेट अरुलाई गाली गर्ने र चरित्र हत्या गर्ने साहित्य कहाँ पढेर आउनुभयो नेताज्यू ?’ भन्दै प्रश्न गरेका थिए । निर्वाचन आयोगले पटक पटक यस्तो विषयमा खबरदारी गर्दै आए पनि नेता तथा उम्मेदवारहरु भने यबाट टाढा हुन नसकेको उनीहरुको भाषण सुन्दा जोकोहीले भान हुन्छ ।
केहीदिन अघि चितवन क्षेत्र नम्बर–२ मा सत्ता गठबनधनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता उमेश श्रेष्ठ आफ्ना प्रतिस्पर्धीको खह्रो आलोचना गरे । आफ्नै निर्वाचन क्षेत्रका सभा, नाराजुलुस तथा घरदैलोमा व्यस्त रहेका उनले प्रयोग गर्न मिल्नेसम्मको शब्दमार्फत प्रतिस्पर्धीको आलोचना गरे । चितवन–२ मा यस पटक त्रिपक्षीय रोचक भिडन्त हुने पक्का छ । यस क्षेत्रबाट पाँच दलीय गठबन्धनबाट नेता श्रेष्ठ, नेकपा एमालेको कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच मुख्य प्रतिस्पर्धा हुनेछ । गठबन्धनका कारण एमालेका पोखरेलसँग केही ढुक्क देखिएका श्रेष्ठ संचार क्षेत्रबाट राम्रो चर्चा कमाएका लामिछानेसँग भने केही सशंकित देखिन्छन्, जुन कुरा उनका अभिव्यक्तिहरुले नै पुष्टि गर्नछन् ।
न्यूज २४ टेलिभिजनमा कार्यक्रम ‘सिधा कुरा जनतासँग’बाट चर्चित बनेका उनी पछिल्लो पटक ग्यालेक्सी फोरके टेलिभिजनबाट ‘सिधा कुरा’ चलाउँदै आएका थिए । उनको त्यो कार्यक्रम पनि उत्तिकै चर्चाको शिखरमा थियो । तर आमनिर्वाचन नजिकिएसँगै संचारकर्म छोडेर लामिछाने राजनीतिमा होमिका हुन् । उनै लामिछानेसँग ढुक्क हुन नसकेका गठबन्धनका उम्मेदवार श्रेष्ठले केही दिन अघि लामिछानेमाथि तुच्छ टिप्पणी गरे । उनले लामिछानेतर्फ संकेत गदै ‘मण्डले’ अर्थात् ‘छुल्याहा, बदनामी कमाएको अरुको अहित चिताउने, उपद्रवी’ को संज्ञा दिए ।
रवि लामिछाने समर्थकले भने श्रेष्ठको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सभापति लामिछाने नभई श्रेष्ठ नै मण्डले भएको उनीहरुको जवाफ छ । विगतमा मण्डले प्रवृत्ति बरु उमेशले नै देखाएको भन्दै एक पूराना नेता भन्छन्, ‘मरिचमान सिंह शिक्षामन्त्री हुँदा उनी(उमेश श्रेष्ठ) मरिचमानका पिए थिए । त्यसबेला उनले बरु मण्डले प्रवृत्ति देखाएका थिए ।’ ती नेता भन्छन्, ‘खास मण्डले को हो त्यो चतिवनका मतदाताले बुझ्नुपर्छ ।’




















प्रतिक्रिया