Logo

राजनीति

मंसिर ४ पछि एमाले सरकारले वृद्धभत्ता ५ हजार बनाउँछ : ईश्वर पोखरेल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले आगामी ४ मंसिरको चुनावपछि एमाले सरकार बने वृद्धभत्ता पाँच हजार पु¥याउने बताएका छन् । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालमा अरु पार्टीको निकै विरोधका बाबजुद आफूहरुले वृद्धाभत्ता सुरुवात गरेको स्मरण गरेका छन् ।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तरक्रिया कार्यक्रममा पोखरेलले तत्कालीन समयमा विभिन्न दलका कयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्ध–वृद्धालाई भत्ता दिन सुरुवात गरेको बताए । ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी नेकपा एमाले भएको पनि उनले दाबी गरे ।

‘अन्य दलका कयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ । तर, कांग्रेस लगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए । तर, ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको छ । ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ’, उनले भने ।

केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पु¥याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १८:४१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।