कठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई समावेशी तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिएको छ । ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९’, लगायतले लैङ्गिक तथा समावेशी सिद्धान्तलाई विशेष जोड दिएको तथा सो सम्बन्धी व्यवस्थाहरूको कार्यान्वयनमा आयोग प्रतिवद्ध रहेको रहेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको हो ।
त्यसका लगि मतदान कक्ष बनाउँदा वा मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाई वा नराखी होचो कद वा अपाङ्गता भएका व्यक्ति वा ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मतसङ्केत गर्न सक्ने गरी बनाउन वा राख्न भनेको छ । गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्न तथा उनीहरुलाई मतदान अधिकृतले मतदान गर्ने काममा प्राथमिकता दिई मतदान गराउने व्यवस्था गर्ने आयोगले निर्देशनमा भनेको छ ।
कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणवश आफै मतसङ्केत गर्न नसक्ने भई मतसङ्केत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा र मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छा अनुसार मत सङ्केत गर्ने काममा सहयोग गर्न, निर्वाचन सूचना व्यवस्थापन प्रणालीलाई लैङ्गिकमैत्री तथा समावेशी हुने गरी प्रभावकारी बनाउन भनेको छ ।
साथै, गम्भीर प्रकृतिका अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारी साधनको प्रयोग गरी मतदान केन्द्रसम्म पु¥याउन र फर्किनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्नसमेत मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई आयोगले निर्देशन दिएको छ ।






















प्रतिक्रिया