Logo

प्रमुख समाचार

द्वन्द्वपीडितको समस्या वाम–लोकतान्त्रिक गठबन्धनले मात्र टुङगो लगाउन सक्छ : प्रचण्ड



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडित सबैलाई समान रुपले सम्बोधन गर्नुपर्ने बताएका छन् । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले द्वन्द्वपीडितको समस्या अहिले बनेको लोकतान्त्रिक तथा समाजवादी गठबन्धनले मात्र टुङगो लगाउन सक्ने जिकिर गरे ।

चुनावी भेटघाट अन्तर्गत गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीमा भएको सभालाई सम्बोधन गर्दै उनले भने, ‘द्वन्द्वपीडित, युद्ध पीडित, कांग्रेस, माओवादीका नेता कार्यकर्ता, समर्थक भनौं या नेपाली सेना, नेपाल प्रहरी शसस्त्र प्रहरी, सबैलाई विना भेदभाव सम्मान गर्ने, अधिकार स्थापित गर्ने नीति पारित भइकेको छ, त्यसलाई सत्यनिरुपण र बेपक्ता अयोग मार्फत् अन्तिम टुँगो लगाउने प्रक्रियामा छौं । द्वन्द्व पीडित सबैलाई यो उ नभनी समान रुपमाले सम्बोधन गर्नै पर्छ ।’

गोरखा जिल्ला पनि द्वन्द्व र युद्धबाट प्रभावित भएकाले सबैको घाउमा मल्मह लगाउनुपर्ने उनले बताए । साथै प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम टुंगो लगाउने आधारभूमि पनि गोरखा हुनसक्ने बताएका थिए । ‘गोरखाको जनताको भरोसामा, सदभावमा फेरि एकचोटि शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर दिगो शान्ति र विकासको आधार बनाउन सकिन्छ,’ उनले भने । यस्तै गोरखा जिल्लालाई विकास निर्माणको अग्रणी बनाउने पनि प्रचण्डले बताए ।

मंसिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्र नभएको पनि प्रचण्डको भनाइ थियो । नेपाली जनताले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षा गर्ने वा यसलाई उल्टाउने तथा देशलाई निरंकुशता र अराजकतातिर लैजानेहरूबीचको जनमत संग्रह जस्तो पनि भएको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार २०:१७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।