काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा बृहत् चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा दिउँसो २ बजे कोटेश्वरमा अन्तिम चुनावी सभा हुन लागेको हो ।
सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
४ मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–२ मा गठबन्धनबाट पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (१) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (२) मा एकीकृत समाजवादीका भरतप्रसाद फुयाँल उम्मेदवार छन् ।
बिहीबार मध्यरातबाट मौन अवधि सुरु हुँदैछ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार–प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन ।
निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ । मौन अवधिलाई यसपालिदेखि ‘स्थिर समय’ वा ‘शान्त समय’ भनेर आयोगले परिभाषित गरेको छ । आचारसंहिता उल्लंघन गरेर निर्वाचनमा धाँधली गरेको ठहर भएमा आयोगले उम्मेदवारीसम्म रद्द गर्ने छ ।




















प्रतिक्रिया