काठमाडौं । जेनेभास्थित राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) स्तर निर्धारणसम्बन्धी उपसमितिले हालै नेपालको राष्ट्रिय मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न सिफारिस गरेको छ । सुरुवात देखि ‘क’ श्रेणीमा रहेको आयोग घटुवा सिफारिसमा पर्नुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर आँच पुगेको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको ठहर छ ।
गानरी उपसमितिको यो कदमबाट संयुक्त राष्ट्र संघीय तमाम समितिहरुमा नेपालको सहभागितामा गम्भीर कटौती हुने एवं नेपालको संविधान–कानूनमा जति सुकै मानव अधिकार एवं आधारभूत स्वतन्त्रताहरुका सम्बन्धमा उल्लेख एवं मानव अधिकारका अन्तर्राष्ट्रिय महासन्धीहरुको जतिसुकै ठूलो संख्यामा अनुमोदन गरिए पनि धरातलीय यथार्थमा मानव अधिकार कार्यान्वयनको अवस्था अत्यन्त फितलो तथा कमजोर रहेको नकारात्मक सन्देश अन्तर्राष्ट्रिय जगतमा प्रवाहित भएको ठहर वरिष्ठ अधिवक्ता त्रिपाठीको छ ।
उनले संवैधानिक आयोगहरुमा राजनीतिक भागबण्डाको आधारमा हुने राजनीतिक नियुक्तीप्रति पनि आपत्ति जनाएका छन् । ‘मानव अधिकारका सम्बन्धमा नेपालको प्रतिबद्धता वास्तविक नभएर शाब्दिक वा सजावटी मात्र रहेको भाष्य अन्तर्राष्ट्रिय जगतमा निर्माण हुनेछ’, उनले विज्ञप्तीमार्फत भनेका छन्, ‘मानव अधिकार उल्लंघनको जवाफदेहिताबाट बच्न एवं क्षणिक राजनीतिक स्वार्थका लागि मानव अधिकार आयोग जस्ता सवैधानिक निकायलाई समेत भागबण्डा एवं राजनितिक हतियार बनाइएको तथ्य अन्तर्राष्ट्रि जगतमा समेत रेखांकित भएको छ । संविधानको अक्षर एवं भावना विपरीत स्वेच्छाचारी एव कपटपूर्ण ढंगले अध्यादेश जारी गरी संसदीय सुनवाइको अनिवार्य संवैधानिक प्रक्रिया समेतलाई छलेर भागण्डाको आधारमा गरिएको नियुक्तिले पेरिस प्रिन्सिपलको खुला उल्लंघन भएको तथ्य स्वतः स्पष्ट छ ।’
मुलुकमा लिखित संविधान अस्तित्वमा छ भन्ने कुराको समेत हेक्कासमेत नराखी असैवैधानिक एवं जालसाजीपूर्ण ढंगले नियुक्ति गरिनुको परिणामस्वरुप आयोग घटुवामा सिफारिस भएको त्रिपाठीको आरोप छ । ‘मुलुकमा लिखित संविधान अस्तित्वमा छ भन्ने कुराको समेत हेक्का नराखी असंवैधानकि एव जालसाजीपूर्ण ढंगले गरिएको नियुक्ति बदरको माग गर्दै मैले सम्मानित सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको हाल सम्म पनि सुनुवाइ हुनसकेको छैन । यस गैरसंवैधानिक नियुक्तिको परिणामस्वरुप आयोगको स्वायत्तता, निष्पक्षता एव विश्वसनीयता गम्भीर रुपमा क्षतिग्रस्त भएको छ ।’
वरिष्ठ अधिवक्ता त्रिपाठीले क्षति न्यूनीकरणको उपायका लागी गैरसंवैधानिक, अपारदर्शी एवं पेरिस सिद्धान्त प्रतिकूल आयोगमा नियुक्त भएका सदस्य वा पदाधिकारीहरुलाई आयोगमा बसिरहने कुनै पनि नैतिक एव कानूनी आधार नभएको भन्दै तत्काल उनीहरुलाई स्वेच्छाले पद त्याग गर्न पनि आग्रह गरेका छन् ।




















प्रतिक्रिया