Logo

राजनीति

रोल्पामा महिला मतदाता धेरै



रोल्पा । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि रोल्पामा पुरुषको तुलनामा महिला मतदाता संख्या धेरै रहेको छ । जिल्लामा अधिकांश पुरुष वैदेशिक रोजगारीका क्रममा लामो समय देशबाहिर भएका कारण महिला मतदाताको संख्या बढी देखिएको बताइएको छ ।

जिल्लामा १७७ मतदान केन्द्रबाट एक लाख ४५ हजार ४७१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी पदमबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार प्रदेशसभा १ मा ६८ हजार १६४ र प्रदेशसभा २ मा ७७  हजार ३०७ मतदाता छन् ।

जिल्ला निर्वाचन कार्यालय रोल्पाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने बताइएको छ । निर्वाचनका लागि रोल्पामा तीन सुरक्षा अङ्गका करिब दुई हजार हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको छ । 

निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र मतपेटिका पुगिसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । निर्वाचनमा सुरक्षाका कारण कुनै समस्या नहुने भएकाले ढुक्क भएर मतदान गर्न प्रजिअ सापकोटाले आग्रह गरे ।  

निर्वाचनका लागि रोल्पामा ८६ मतदान स्थलको व्यवस्था गरिएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ती मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा बन्दोबस्ती गरिएको छ । सदरमुकाम लिवाङको कारागार कार्यालय र जिल्ला समन्वय समिति प्राङ्गणमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । रासस

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १२:०४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।