काठमाडौं । दक्षिण कोरिया कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
शुक्रबार समूह चरणको अन्तिम खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएको हो।
दक्षिण कोरिया समूह ुएचु को उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । उसले तीन खेलमा पाँच अंक जोड्यो ।
यसअघि कोरियाले समूह चरणको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा घानाविरुद्ध ३-२ गोलको हार बेहोरेको थियो ।
आज एजुकेसन सिटी स्टेडियममा कोरियालाई जिताउन किम योङ अन र ह्वान ही-चनले एक/एक गोल गरे ।
पोर्चुगलका लागि रिकार्डो होर्तले एक गोल गरे ।
खेलको पाँचौं मिनेटमा रिकार्डो होर्तले गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो । उनले डालोटको पासमा गोल गरेका थिए ।
खेलको २७औं मिनेटमा किम योङ अनले गोल गरेपछि कोरिया बराबरीमा फर्कियो । खेलको इन्ज्युरी समयमा ही(चनले गोल गरेपछि कोरियाले २-१ गोलको जित निकाल्यो ।
पोर्चुगल एक खेलअगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तीन खेलमा सात अंक जोडेको पोर्चुगल समूह विजेता बन्यो ।
आजै भएको अर्को खेलमा उरुग्वेले घानामाथि २-० गोलको जित निकाल्यो । तर ऊ विश्वकपको अन्तिम १६ मा पुग्न सकेन ।
पोर्चुगलले आठौं पटक विश्वकप खेलिरहेको छ। उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।




















प्रतिक्रिया