क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको नकआउट चरणको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा पुगेको हो ।
कतारको राजधानी दोहास्थित अल जानब स्टेडियममा निर्धारित र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो ।
जसमा क्रोएसिया भाग्यमानी ठहरियो। उसले जापानलाई ३-१ गोलले हरायो । जापानका लागि पहिलो पेनाल्टी प्रहार गरेका ताकुमी मिनामिनोले मिस गरे ।
क्रोएसियाका निकोला भासिकले गोल गरे ।
जापानका काउरो मितोमाले पनि मिस गरे ।
क्रोएसियाका मार्सेलो ब्रोजोभिकले गोल गरे ।
जापानका ताकुमा असानोले गोल गरे भने क्रोएसियाका मार्को लिभाजाले मिस गरे ।
जापानका माया योशिदाले मिस गरे भने क्रोएसियाका मारियो पासालिकले गोल गरे । त्यसअघि खेलको ४३औं मिनेटमा दाइजन मेइदाले गोल गरेपछि जापानले पहिलो हाफभरि १-० गोलको अग्रता बनाएको थियो। उनले माया योशिदाको पासमा आकर्षक गोल गरेका हुन् ।
खेलको ५५औं मिनेटमा इभान पेरिसिकले गोल गरेपछि क्रोएसिया बराबरीमा फर्किएको थियो । समूह ‘एफ’मा क्रोसिया उपविजेता बनेर अगाडि बढेको हो । जापानले भने जर्मनी र स्पेनजस्ता महाशक्ति फुटबल राष्ट्रलाई हराएर समूह विजेताका रूपमा क्वार्टरफाइनल खेलेको हो ।
समूह ‘ई’मा जापानले जर्मनी र स्पेनलाई समान २–१ अन्तरले हराएको थियो ।




















प्रतिक्रिया